सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरूको चरित्र, कथावस्तु र तत्कालीन नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्ममा अभिनेता अनमोल केसी पहिलोपटक ग्रामीण परिवेशमा आधारित भूमिकामा देखिएका छन्। सहरी वातावरणमा हुर्किएका अनमोलले फिल्ममा काम गर्ने क्रममा नेपाली समाज, संस्कृति र गाउँले जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।
फिल्मको कथालाई दुई पुस्ताको सम्बन्धमार्फत अघि बढाइएको ट्रेलरले संकेत गर्छ। करिब ४० वर्षअघिको नेपाली समाज र त्यस समयको परिस्थितिलाई चित्रण गरिएको फिल्ममा निर्देशकसमेत रहेका भुवन केसी आफैँ अभिनयमा देखिएका छन्। उनको जोडीका रूपमा अभिनेत्री गरिमा पन्त प्रस्तुत भएकी छन्।
त्यसैगरी, पुरानो पुस्ताको प्रेमकथालाई नयाँ पुस्तासँग जोड्ने प्रयास पनि फिल्ममा गरिएको छ। यसका लागि अनमोल केसी र प्रिन्सी खतिवडालाई नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गरिएको छ।
सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन्। फिल्ममा अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय रहेको छ। विवेक थापा सहनिर्माताका रूपमा जोडिएका छन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने पटकथा तथा लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन्। रोमन बज्राचार्यले पार्श्व संगीत तयार पारेका छन् भने प्रदीप श्रेष्ठले एसोसिएट निर्देशकको जिम्मेवारी सम्हालेका छन्।
