काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक दानबहादुर कार्कीले शक्ति प्रदर्शन गर्न खोजेपछि उनलाई जिम्मेवारीबाट अलग गरिएको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै चौलागाईंले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनको प्रमुखले नै सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न खोज्नु अनुचित भएको बताए । राज्यको कुनै एउटा निकायले शक्ति प्रदर्शन गरेर शासन सञ्चालन हुन नसक्ने उनको भनाइ थियो ।
‘उहाँमाथि प्रश्न उठेपछि त्यसलाई विषयान्तर गर्न प्रहरी संगठनलाई प्रयोग गर्न खोज्नुभयो । उहाँले शक्ति प्रदर्शन गर्न लाग्नुभयो । त्यो शक्ति प्रदर्शनले राज्य चल्दैन थियो । त्यसकारण उहाँलाई बहिर्गमन गराइएको हो,’ चौलागाईंले भने ।
उनले कानुनी प्रक्रियाका कारण कार्कीलाई सीधै पदमुक्त गर्न कठिन भएकाले नयाँ जिम्मेवारी सिर्जना गरेर प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरिएको जिकिर गरे ।
आईजीपीको कार्यकाल बाँकी रहँदै पदबाट हटाउन कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र त्यसमा समय लाग्ने भएकाले सरकारले मातहतका कर्मचारीलाई अर्को जिम्मेवारीमा खटाउन पाउने अधिकार प्रयोग गरेको उनको दाबी थियो ।
कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउनुको उद्देश्य सरकारलाई विश्वासिलो व्यक्तिको साथ उपलब्ध गराउनु रहेको पनि उनले बताए ।
सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेको प्रसङ्गमा भने चौलागाईंले अदालतमा विचाराधीन विषयमा अहिले नै टिप्पणी गर्नु उचित नहुने धारणा राखे ।
