‘भोलि यो एमाले–कांग्रेसको सरकार थियो भन्ने अवस्था नआओस्’ भन्दै सरकारका गतिविधिमा रास्वपाको जवाफदेहिता खोजिन्
काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा दुई दिनसम्म राखिएको घटनाप्रति आपत्ति जनाएकी छन्। उनले यस प्रकरणले सरकारको कानुनी र नैतिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताइन्।
काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले एउटा कमजोरी ढाकछोप गर्न अर्को गल्ती गर्दै जाँदा सरकार थप विवादमा फस्ने टिप्पणी गरिन्। सुशासनको प्रतिबद्धता जनाएर बनेको सरकारले आफ्नै गतिविधिबारे जवाफ दिनुपर्ने अवस्था आउनु चिन्ताजनक भएको उनको भनाइ छ।
अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा किन र कुन प्रयोजनका लागि राखियो भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्ने उनले बताइन्।
अर्यालले नेपाल प्रहरी कुनै व्यक्ति, प्रधानमन्त्री वा राजनीतिक दलको निजी संयन्त्र नभई राज्यको व्यावसायिक र स्वतन्त्र संस्था भएको उल्लेख गरिन्। प्रहरीलाई दबाब र भयबाट मुक्त भएर काम गर्ने वातावरण दिनुपर्नेमा यस्ता घटनाले सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र काम गर्ने वातावरण प्रभावित बनाउने उनको तर्क छ।
सरकारका गतिविधिको जिम्मेवारीबाट रास्वपा पन्छिन नमिल्ने भन्दै अर्यालले व्यङ्ग्यात्मक टिप्पणीसमेत गरिन्। उनले रास्वपाका नेताहरूले भविष्यमा ‘यो सरकार त एमाले र कांग्रेसको थियो’ भन्ने अवस्था आउन सक्ने संकेत देखिएको बताइन्।
सरकारले गरेका कामको राजनीतिक जवाफदेहिता सत्तारूढ दलले नै लिनुपर्ने उनको भनाइ छ। रास्वपाले सरकारका गतिविधिबारे आफूलाई जानकारी नभएको भन्दै जिम्मेवारीबाट उम्किन नपाउने अर्यालले स्पष्ट पारिन्।
