आन्दोलन जेनजी पुस्ताले स्थगित गरेपछि टीओबी समूहले नियन्त्रणमा लिएको एमाले महासचिवको दाबी
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलनको नेतृत्व र त्यसबाट प्राप्त उपलब्धिको स्वामित्वबारे प्रश्न उठाएका छन्। उनले आन्दोलनको वास्तविक नेतृत्व कसले गरेको थियो र त्यसपछिका राजनीतिक घटनाक्रममा कसले प्रभाव जमायो भन्ने विषयमा निष्पक्ष समीक्षा हुनुपर्ने बताएका छन्।
पोखरेलले जेनजी पुस्ताले आन्दोलन स्थगित गरेपछि टीओबी समूहले त्यसलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्। जेनजी युवाको नाममा भएको आन्दोलनको राजनीतिक लाभ कसले लियो र त्यसका उपलब्धिमाथि कसले अधिकार जमायो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
आन्दोलनका क्रममा प्रयोग भएका रासायनिक पदार्थबारे पनि उनले प्रश्न गरेका छन्। ती पदार्थ कहाँबाट ल्याइए, कुन उद्देश्यले प्रयोग गरिए र त्यसमा को–को संलग्न थिए भन्ने विषयमा छानबिन हुनुपर्ने उनको धारणा छ।
एमाले महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र सरकारको जवाफदेहितामाथि समेत असन्तुष्टि जनाएका छन्। लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलहरूबीच संवाद तथा सहकार्य आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्रीले राजनीतिक संवादलाई प्राथमिकता नदिएको उनको आरोप छ।
यसैगरी, इमान सापकोटाको मोबाइल फोन प्रधानमन्त्री कार्यालयसम्म पुगेको र त्यसमा रहेका प्रमाण नष्ट गरिएको भन्ने चर्चाबारे पनि पोखरेलले प्रश्न उठाएका छन्। मोबाइल त्यहाँ कसरी पुग्यो, त्यसमा रहेका सामग्रीको अवस्था के छ र प्रमाण नष्ट गरिएको भए त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले बताएका छन्।
आन्दोलनको नाममा सत्ता प्राप्त गरेकै आधारमा लोकतान्त्रिक जवाफदेहिताबाट छुटकारा नपाइने पोखरेलको तर्क छ। सरकार जनताप्रति, प्रधानमन्त्री संसद्प्रति र राज्यका निकाय संविधान तथा कानुनप्रति जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरेका छन्।
जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका माग वर्तमान सरकारले कति सम्बोधन गर्यो भन्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको पोखरेलको धारणा छ।
