मकवानपुर । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले २५५ जना कर्मचारीको जिम्मेवारी परिवर्तन गरेको छ। मन्त्रालयले विभिन्न कार्यालयमा कार्यरत तथा पदस्थापनको प्रतीक्षामा रहेका कर्मचारीलाई नयाँ कार्यक्षेत्र तोकेको हो।
मन्त्रालयको कात्तिक १९ गतेको सचिवस्तरीय निर्णयअनुसार प्रदेश इन्जिनियरिङ सेवा, प्रदेश प्रशासन सेवा र अस्थायी दरबन्दीका कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी निर्धारण गरिएको हो।
प्रदेशमा सञ्चालित खानेपानी, जलस्रोत, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा क्षेत्रका योजनालाई प्रभावकारी रूपमा अघि बढाउन तथा नयाँ संगठनात्मक संरचनाअनुसार जनशक्ति परिचालन गर्न कर्मचारी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
निर्णयअनुसार इन्जिनियरिङ सेवाअन्तर्गतका १३३ जना प्राविधिक कर्मचारीको कार्यक्षेत्र परिवर्तन गरिएको छ। वरिष्ठ इन्जिनियरदेखि सब–इन्जिनियरसम्मका कर्मचारीलाई विभिन्न जिल्लाका डिभिजन, सब–डिभिजन र प्रादेशिक समन्वय कार्यालयमा खटाइएको छ।
वरिष्ठ इन्जिनियर विजय श्रेष्ठलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौं, शेखरप्रसाद मैनालीलाई काभ्रे र किरणराज कार्कीलाई नुवाकोटमा जिम्मेवारी दिइएको छ। त्यस्तै दिलिपकुमार बीकेलाई काठमाडौं, विशाल केसीलाई मन्त्रालय र कुश बुढाथोकीलाई दोलखामा पदस्थापन गरिएको छ।
यसैगरी सुवास बानियाँलाई सिन्धुली, केवल पण्डित र अचला पौडेललाई भक्तपुरस्थित प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय, सृष्टि श्रेष्ठलाई सिन्धुपाल्चोक, दीपिका शर्मालाई काभ्रे, नेशन श्रेष्ठलाई चितवन र युगलकिशोर रायलाई सिन्धुपाल्चोकको खानेपानी तथा सरसफाइ डिभिजनमा खटाइएको छ।
मन्त्रालयले २८ जना इन्जिनियर तथा हाइड्रोजियोलोजिस्टको पनि कार्यक्षेत्र निर्धारण गरेको छ। नितु पराजुली, पुष्प भट्टराई र दिनेश अधिकारीलाई भक्तपुरस्थित प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालयमा पठाइएको छ।
त्यस्तै आनन्द पौडेल, अनुपा श्रेष्ठ, विश्वज्योति भण्डारी र हेमराज बोगटीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुरमा पदस्थापन गरिएको छ।
अन्य इन्जिनियरहरूलाई धादिङ, दोलखा, काठमाडौं, रामेछाप, सिन्धुली, नुवाकोट, मकवानपुर, चितवन र सिन्धुपाल्चोकलगायत जिल्लाका कार्यालयमा जिम्मेवारी दिइएको छ। हाइड्रोजियोलोजिस्ट संजयप्रसाद कुशवाहा र उमा पाण्डेलाई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन चितवनमा खटाइएको छ।
यसैगरी ९२ जना सहायक इन्जिनियर तथा सब–इन्जिनियरको सरुवा र पदस्थापन गरिएको छ। विक्रम फैंजु, मनोज खड्का, मन्दिरा महर्जन, कल्पनाकुमारी सिंह, अच्युतराज पौडेल, राजु भट्टराई, दुर्गाबहादुर श्रेष्ठ, विकासकुमार लाल, राधेश्याम श्रेष्ठ, विष्णुबहादुर लो, निशा महतो, सन्तकुमार नेपाल, विजय महर्जन र दिव्यारानी झासहितका कर्मचारीलाई विभिन्न जिल्लामा जिम्मेवारी तोकिएको छ।
त्यसैगरी प्रदेश प्रशासन सेवाका ३२ जना कर्मचारीको पनि सरुवा तथा पदस्थापन गरिएको छ। मन्त्रालय, निर्देशनालय र जिल्लास्थित डिभिजन कार्यालयमा कार्यरत अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो।
प्रशासन सेवातर्फ शाखा अधिकृत करुणा पराजुलीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुर, सपना थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र दिवाकर सोतीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुरमा खटाइएको छ।
मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेरसँगै प्रदेशभर खानेपानी, सिँचाइ, जलस्रोत तथा ऊर्जा क्षेत्रका आयोजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।
