गोरखा । गोरखाको साम्दोस्थित लार्के बजारको पारिपट्टि सुक्खा पहिरो खसेपछि रेमुनाङ खोला थुनिएको छ। पहिरोका कारण खोलामा करिब डेढ सय मिटर लामो ताल बनेको स्थानीयले जानकारी दिएका छन्।
खोलामा जमेको पानी एकैपटक बाहिरिए बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
घटनास्थलमा रहेका निमा दोर्जेका अनुसार तत्काल ताल फुट्ने अवस्था देखिएको छैन। आवश्यक उपकरण उपलब्ध भए खोलाको अवरोध हटाउन सकिने उनको भनाइ छ। तर ताल अचानक फुटेमा ठूलो बाढी आउन सक्ने उनले चेतावनी दिएका छन्।
रेमुनाङ खोला बुढीगण्डकीको मुहान क्षेत्रनजिकै रहेको बताइएको छ। यस घटनाबारे गोरखा प्रहरीले पनि जानकारी प्राप्त भएको जनाएको छ।
गोरखाका प्रहरी प्रमुख एसपी अनिल खड्काले घटनाबारे सूचना आएको र प्रहरी स्थानीयसँग निरन्तर सम्पर्कमा रहेको बताए। अवस्था हेरेर आवश्यक परे सर्वसाधारणका लागि सूचना जारी गरिने उनको भनाइ छ।
