जैसीका अनुसार बेलिब्रिज निर्माणका लागि बलियो जग आवश्यक पर्ने भएकाले यसको संरचनागत सुरक्षामा विशेष ध्यान दिनुपर्छ। रसुवागढी नाकाको उदाहरण दिँदै उनले यस्तो पुल निर्माण गर्न ठूलो बजेट र लामो समय खर्च हुने बताए।
त्यसैगरी, वर्षायाम सुरु हुनुअघि अस्थायी बेलिब्रिज हटाउनुपर्ने अवस्थाले निर्माण तथा व्यवस्थापनमा थप आर्थिक भार सिर्जना गर्ने उनको भनाइ छ। बजेट सुनिश्चित नभए पनि आपत्कालीन अवस्थामा विभागले आवश्यक काम अघि बढाइरहेको उनले स्पष्ट पारे।
बैठकमा उनले बेलिब्रिज निर्माणमा हतार गर्नुभन्दा कतिपय स्थानमा पुराना पुलका एप्रोच सडक सुधार गर्नु उपयुक्त हुने धारणा राखे।
‘बेलिब्रिज राख्ने निर्णय हतारमा गर्नु हुँदैन। धेरै ठाउँमा नयाँ बेलिब्रिज राख्नुभन्दा भएका पुलका एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित समाधान हुन सक्छ। अन्यथा वर्षायामको बाढीले संरचना बगाउने जोखिम रहन्छ,’ उनले भने।
मालढुङ्गा र आरुघाट पुलमा देखिएका समस्या पनि बजेट अभावकै अवस्थामा समाधान गरिएको जानकारी दिँदै जैसीले बेलिब्रिज निर्माण गर्दा भविष्यमा आउन सक्ने विपद् र त्यसको जिम्मेवारीसमेत विचार गर्नुपर्ने बताए।
त्यस्तै, ढुङ्गेवामा भइरहेको निर्माण कार्य तिहारलगत्तै दुई साताभित्र सम्पन्न हुने विश्वास उनले व्यक्त गरे। पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी निर्णय गर्दा सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय र प्राविधिक परामर्श हुनुपर्नेमा उनले जोड दिए।
