काठमाडौं । अमेरिकी डलर सस्तोमा साटिदिने प्रलोभन देखाएर सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी तथा लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौंको बौद्ध क्षेत्रमा बस्दै आएका २८ वर्षीय सुजन तामाङ छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट उनलाई नियन्त्रणमा लिएको हो।
कपनको खोर्सानीटार र बूढानीलकण्ठ क्षेत्रमा डलर देखाएर ठगी गरेको उजुरीपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा तामाङले प्रहरी जवानमाथि गोली चलाएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गर्नुका साथै तामाङको घुँडामुनि एक राउन्ड गोली प्रहार गरेको थियो। घाइते उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार तामाङविरुद्ध यसअघि काठमाडौं र ललितपुरको सातदोबाटो क्षेत्रमा ठगी तथा लुटपाटसम्बन्धी आठवटा मुद्दा दर्ता भइसकेका छन्। पछिल्लो समय उनले बूढानीलकण्ठ, साँखु, स्वयम्भू हुँदै काभ्रेपलाञ्चोकसम्म आफ्नो ठगी गतिविधि विस्तार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
गेस्टहाउसका नम्बर टिपेर बनाउँथे ग्राहकसँग चिनजान
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तामाङले ठगी गर्न गेस्टहाउस र होटलका साइनबोर्डबाट सम्पर्क नम्बर संकलन गर्ने गरेका थिए। ती स्थानका तस्बिर मोबाइलमा राख्ने र बोर्डमा उल्लेखित नम्बरमा फोन गरी आफू पहिले त्यहाँ बसेको वा खाना खाएको बहाना बनाएर चिनजान बढाउने गर्थे।
त्यसपछि आफूसँग ठूलो परिमाणमा अमेरिकी डलर रहेको र सस्तो दरमा साट्न सकिने भन्दै रकमको लोभ देखाउँथे। उनले १५ देखि २० डलरका केही नोट देखाएर बाँकी भागमा कागज राखी पैसाको मुठोजस्तो बनाउने गरेको प्रहरीको भनाइ छ। यसरी पाँचदेखि १० लाख रुपैयाँसम्म लिएर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
कारोबारका लागि उनले प्रहरी र सीसीटीभीको निगरानी कम हुने एकान्त तथा विकट स्थान छनोट गर्ने गरेको प्रहरीले जनाएको छ। नाङ्लेभारे, लप्सीफेदी र सुन्दरीजलजस्ता क्षेत्रमा ग्राहकलाई बोलाएर नेपाली रकम हात पार्ने र डलर देखाउने बहानामा दुवै रकम लिएर भाग्ने उनको तरिका रहेको बताइएको छ।
ठगीपछि पहिचान लुकाउन उनले मोटरसाइकलको नम्बर प्लेट र लगाएका कपडा परिवर्तन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, एउटा घटनामा प्रयोग गरेको मोबाइलको सिमकार्ड तत्काल नष्ट गरी अर्को घटनामा नयाँ सिमकार्ड प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ।
यस घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। तामाङसँग सम्बन्धित काभ्रेपलाञ्चोकका ठगी घटनाबारे त्यहाँको जिल्ला प्रहरी कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ।
