काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका बस्तीमा पुगेर पीडितको अवस्था बुझ्ने भएको छ। पार्टीले छठ पर्व सकिएलगत्तै तीनवटै जिल्लामा स्थलगत अवलोकन तथा प्रभावित नागरिकसँग अन्तरक्रिया गर्ने निर्णय गरेको हो।
सभापति गगन थापाको उपस्थितिमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित क्षेत्रको भ्रमण गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।
बैठकमा गत भदौ १० गतेको आकस्मिक बाढीपहिरोबाट प्रभावित नागरिकको वर्तमान अवस्था, पुनःस्थापनाका प्रयास, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको प्रगतिबारे छलफल भएको थियो।
स्नेहीका अनुसार विपद्बाट प्रभावित परिवारका समस्या समाधान र उनीहरूको जीवनयापन सहज बनाउन कांग्रेसले आवश्यक पहल गर्नेछ। पुनःस्थापना तथा पुनर्निर्माणलाई तीव्रता दिन सरकारलाई निरन्तर खबरदारी गर्नुका साथै पार्टीका तर्फबाट सहयोग र सहजीकरणका काम अघि बढाइने उनले बताए।
स्थलगत भ्रमणपछि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक पहल तय गरिने कांग्रेसले जनाएको छ।
त्यस्तै, प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले ‘न्यानो कपडा अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। विपद्का कारण मानसिक तनावमा रहेका नागरिकलाई लक्षित गरी मानसिक स्वास्थ्य परामर्श अभियानसमेत अघि बढाइने भएको छ।
