चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारी आवागमन रोकिएको हो ।
आज बिहान करिब १० बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । थप पहिरो नखसे सडक चाँडै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने उनले बताए ।
पहिरो खसेपछि राजमार्गमा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू आवागमन खुल्ने प्रतीक्षामा छन् ।
