मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली मौलिक चाडपर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताएका छन्।
नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विभिन्न भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको नेपाली समाजमा यस्ता पर्वले एकता र सहअस्तित्वलाई थप बलियो बनाउने उल्लेख गरेका छन्।
देवकोटाले तिहारलाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको विजयका रूपमा व्याख्या गरेका छन्। त्यसैगरी, नेपाल संवत् नेपालीको मौलिकता, आत्मसम्मान र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएको बताएका छन्।
उनका अनुसार नेवार समुदायले मनाउने म्हपूजाले आत्मसम्मान र आत्मबोधको सन्देश दिन्छ भने भाइटीकाले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउँछ। छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई अझ नजिक बनाउने उनको भनाइ छ।
राष्ट्रिय स्वाभिमान, आपसी एकता र सहअस्तित्वको भावनालाई आत्मसात् गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले यी पर्वले शान्त, सभ्य र समृद्ध नेपाल निर्माणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामनासमेत दिएका छन्।
