विराटनगर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशले पार्टीका नेता तथा कार्यकर्तालाई कडा चेतावनी दिएको छ। पार्टीले निर्देशनविपरीत उम्मेदवारी घोषणा गरे साधारण सदस्यतासमेत खारेज हुन सक्ने जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि रास्वपाले इच्छुक व्यक्तिलाई ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिन आह्वान गरेको छ। तर क्लबमा नाम दर्ता गराएकै आधारमा केही आकांक्षीले सामाजिक सञ्जालमार्फत आफूलाई उम्मेदवार घोषणा गर्दै प्रचार गर्न थालेपछि प्रदेश समितिले आपत्ति जनाएको हो।
रास्वपा कोशी प्रदेशका महामन्त्री निरज कटुवालले अत्यन्त जरुरी सूचना जारी गर्दै पार्टीको विधान र आचारसंहिताविपरीत गतिविधि नगर्न निर्देशन दिएका छन्। उनले पार्टीको निर्णयविपरीत उम्मेदवारी घोषणा गर्ने व्यक्तिमाथि कडा अनुशासनात्मक कारबाही गरिने स्पष्ट पारेका छन्।
कटुवालका अनुसार क्यान्डिडेट क्लबमा आवेदन दिनु उम्मेदवारीको औपचारिक घोषणा होइन। पार्टीको निर्णयविपरीत उम्मेदवारी घोषणा गरे उम्मेदवारी खारेज गर्ने, छनोट प्रक्रियाबाट हटाउने, जिम्मेवारीबाट मुक्त गर्ने र आवश्यक परे साधारण सदस्यतासमेत समाप्त गर्ने कारबाही हुन सक्नेछ।
पार्टीको विधि र निर्णयभन्दा माथि कोही नरहेको स्पष्ट पार्दै सूचनामा आन्तरिक लोकतन्त्र, संस्थागत मर्यादा र विधिको शासनलाई पालना गर्न सबै सदस्य तथा आकांक्षीलाई निर्देशन दिइएको छ।
महामन्त्री कटुवालद्वारा जारी सूचनामा निर्वाचन तथा पार्टीको आन्तरिक अधिवेशनलाई लक्षित गरी मुख्य तीन विषयमा विशेष सावधानी अपनाउन भनिएको छ।
पहिलो, क्यान्डिडेट क्लबमा आवेदन दिएको आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्न वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचारप्रसार गर्न पाइने छैन। यसअघि सार्वजनिक गरिएका भ्रामक सामग्रीसमेत तत्काल हटाउन पार्टीले निर्देशन दिएको छ।
दोस्रो, उम्मेदवार छनोट प्रक्रियामा व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्की स्वीकार नगरिने उल्लेख छ। निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले गरिने आर्थिक लेनदेन, उपहार वितरण, भोजभतेर तथा शक्तिको दुरुपयोगलाई पनि निषेध गरिएको छ।
तेस्रो, पार्टीका आन्तरिक कागजात, निर्णय, छलफल तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न सबै सदस्यलाई निर्देशन दिइएको छ।
रास्वपाले कोशी प्रदेशका विभिन्न पालिकामा प्रमुख तथा उपप्रमुख पदका आकांक्षीहरूले क्यान्डिडेट क्लबमा दिएको आवेदनको सूची सार्वजनिक भएपछि यस्तो सूचना जारी गरेको हो। उक्त सूची ‘नेपाल प्रेस’ मा प्रकाशित भएको थियो।
