काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा चलाएर सरकारले आफूमाथि उठेका गम्भीर प्रश्नबाट जनताको ध्यान अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै पौडेलले मुलुकमा विधिको शासनभन्दा व्यक्तिको इच्छाअनुसार काम भइरहेको टिप्पणी गरेका छन्। उनले पक्राउ पुर्जीबिनै प्रहरी न्यूजरुममा प्रवेश गर्ने सरकारले विधिको शासनको अपेक्षा गर्न नसक्ने बताएका छन्।
पौडेलले अहिले अनुसन्धानको दायरामा सभापति गगन थापा नभई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन हुनुपर्ने जिकिर गरेका छन्। अनुसन्धानका क्रममा बरामद गरिएको डिजिटल प्रमाणमाथि प्रधानमन्त्रीको सचिवालयबाटै छेडछाड भएको उनको आरोप छ।
उनले बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिएको विषयमा गम्भीर प्रश्न उठाएका छन्।
प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको महत्त्वपूर्ण प्रमाण निजी निवासमा कसरी पुग्यो, कसको निर्देशनमा र कुन कानुनी अधिकार प्रयोग गरेर त्यहाँ राखियो भन्नेबारे पौडेलले जवाफ मागेका छन्। उक्त अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल चलाइएको, स्क्रिनसट लिइएको र केही सन्देश हटाइएको भन्ने विषय पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
बिचौलिया भनिएका व्यक्तिसँग प्रधानमन्त्री र उनको सचिवालयको सम्बन्ध कस्तो थियो तथा कसको पहुँच र प्रभावमा उनलाई संरक्षण गरिएको थियो भन्ने प्रश्नसमेत पौडेलले उठाएका छन्।
उनले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ उल्लेख गर्दै प्रमाण नष्ट गर्ने, कसुरदारलाई संरक्षण गर्ने र अनुसन्धानमा अवरोध पुर्याउने कार्य कानुनअनुसार दण्डनीय हुने स्मरण गराएका छन्।
आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा अरूमाथि राजनीतिक आक्रमण गरेर अनुसन्धानलाई प्रतिशोधको माध्यम बनाउन खोजिएको पौडेलको आरोप छ। उनले गिरफ्तारीको चर्चा गरेर प्रकरणलाई ओझेलमा पार्न नसकिने चेतावनीसमेत दिएका छन्।
सरकार, सत्ता, प्रहरी र प्रशासनमाथि प्रभाव भए पनि कानुन र न्याय कुनै व्यक्तिको निजी सम्पत्ति हुन नसक्ने उल्लेख गर्दै पौडेलले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
उनले यस प्रकरणमा तथ्य र प्रमाणका आधारमा सत्यतथ्य सार्वजनिक नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन्। गिरफ्तारीको हल्लाले प्रश्न दबाउन नसकिने र सत्ताको आडमा सत्य लुकाउन नसकिने उनको भनाइ छ।
