आइची क्षेत्रका आपत्कालीन सेवा अधिकारीका अनुसार त्यहाँ १६ जनालाई सामान्य चोटपटक लागेको जानकारी प्राप्त भएको छ। त्यस्तै, छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिला उपचारका लागि अस्पताल पुगेको बताएका छन्। घाइतेमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो।
स्थानीय सञ्चारमाध्यम चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचार प्रकाशित गर्दै आइची र सिजुओका क्षेत्रमा गरी कम्तीमा २४ जना घाइते भएको जनाएका छन्।
भूकम्पका कारण आइची क्षेत्रको तोयोहासी सहरस्थित एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन्। त्यस्तै, टोयोटा सहरको एक ठूलो पुस्तक पसलमा दराजमा राखिएका पुस्तक तथा अन्य सामग्री खसेर क्षति पुगेको छ।
भूकम्पको प्रभाव यातायात सेवामा समेत परेको थियो। आइतबार बिहान क्षेत्रीय रेल सेवाका साथै सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा ढिलाइ र अवरोध भएको थियो। भूकम्पको धक्का पश्चिमी क्षेत्रको ओसाकासम्म महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ओसाकामा भूकम्पको धक्काबाट आत्तिएका एक विदेशी नागरिक आफ्नो अपार्टमेन्टको दोस्रो तलाबाट खसेर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घटनाबारे ओसाका प्रशासनबाट तत्काल थप विवरण सार्वजनिक भएको छैन।
यसैबीच, जापानको मौसम विज्ञान एजेन्सीका अनुसार आइतबार बिहान कुमामोतो क्षेत्रमा ४ दशमलव ३ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। उक्त भूकम्पबाट गम्भीर भौतिक क्षति वा मानवीय चोटपटक भएको विवरण भने प्राप्त भएको छैन।
जापान प्रशान्त महासागरको भूकम्पीय जोखिमयुक्त क्षेत्र ‘रिङ अफ फायर’ मा अवस्थित छ। त्यसैले यहाँ प्रत्येक वर्ष सयौँ भूकम्प जाने गरेका छन्।
यसअघि सन् २०११ मा जापानमा ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि आएको विनाशकारी सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए। उक्त प्राकृतिक विपत्तिले फुकुसिमा आणविक केन्द्रमा समेत ठूलो क्षति पुर्याएको थियो।
