डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीका अनुसार अभियान देशका विभिन्न स्थानमा रहेका रोटरी क्लबहरूको सहभागितामा सञ्चालन गरिएको थियो।
अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमी, रोटरी क्लब अफ दाङले कौशी क्याफे तथा रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ काठमाडौं मेट्रोले संयुक्त रूपमा थापाथलीस्थित रोटरी भवनमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए।
त्यसैगरी, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौं हाइट, रोटरी क्लब अफ काठमाडौं सर्कल र रोटरी क्लब अफ पशुपतिले संयुक्त रूपमा नयाँ बानेश्वरस्थित प्राइम सीए कलेजमा रक्तदान कार्यक्रम सञ्चालन गरेका थिए।
उपत्यकाबाहिर पनि विभिन्न स्थानमा अभियान विस्तार गरिएको थियो। रोटरी क्लब अफ रुपन्देहीले बुटवल, रोटरी क्लब अफ कीर्तिपुरले नगाउँ दोबाटो, रोटरी क्लब अफ गोँगबु तथा रोटर्याक्ट क्लब अफ गोँगबु नर्थले बालाजु चोकमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए। त्यस्तै, रोटरी क्लब अफ धरान फुटहिल्सले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यक्रम सञ्चालन गरेको थियो।
अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको समेत सहभागिता रहेको थियो। विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको सहकार्यले अभियानलाई सामूहिक मानवीय सेवाको अभियानका रूपमा अघि बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकतामा रहेका बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने बताए। उनका अनुसार रक्तदानलाई सामान्य सामाजिक गतिविधिका रूपमा मात्र नभई अरूको जीवनरक्षासँग जोडिएको मानवीय सेवाका रूपमा लिनुपर्छ।
‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ भन्ने भावनालाई व्यवहारमा उतारेको डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका कोचेयर अरुण शर्माले बताए।
