काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेका छन्। आफूमाथि परेको उजुरीका विषयमा ब्युरोले उपस्थित हुन आग्रह गरेपछि उनी दिउँसो कार्यालय पुगेका हुन्।
साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा प्रहरीले आफूलाई बोलाएको र अनुसन्धान अघि बढाएको आरोप लगाए।
सत्तारूढ दल तथा प्रधानमन्त्री बालेन शाहनिकट व्यक्तिहरूले कांग्रेस र पार्टी नेतृत्वलाई लक्षित गर्दै निरन्तर टिप्पणी गरिरहेको भन्दै आफूले त्यसको जवाफ दिएको उनले बताए। सोही विषयलाई लिएर आफूमाथि उजुरी परेको हुन सक्ने उनको भनाइ छ।
शिवाकोटीले प्रधानमन्त्री बालेन शाहले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिँदा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा लिइएको प्रसंग पनि उठाए।
अहिले उनी प्रधानमन्त्री बनेपछि भने उनका सल्लाहकार तथा निकट व्यक्तिहरूले प्रतिपक्षी दलको आवाज दबाउन खोजेको आरोपसमेत शिवाकोटीले लगाएका छन्।
