गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्ड अवरुद्ध बनेको छ। सडक बन्द हुँदा लिमीका बासिन्दालाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको छ।
नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त पहलमा मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो। सडक सञ्चालनमा ल्याएर स्थानीयको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्रीको आपूर्ति नियमित गर्ने उद्देश्यले अभियान अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
हिउँ हटाउने कामको प्रगति बुझ्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा र पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए। उनीहरूले प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन्।
खाद्यान्न अभावको जोखिम, सडक खुलाउन चुनौती
हिमपातपछि न्यालुलेकमा सडक अवरुद्ध हुँदा नाम्खा गाउँपालिका–५ र ६ का बासिन्दाको बाह्य क्षेत्रसँगको सडक सम्पर्क टुटेको छ। उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेकाले खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्री ढुवानी प्रभावित भएको छ।
गाउँपालिका अध्यक्ष लामाले लिमीवासीको जनजीवन सहज बनाउन सडक सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताए। सडक खुलेपछि स्थानीयको आवतजावतसँगै खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुने उनको भनाइ छ।
समुद्री सतहबाट करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेकमा हिउँ हटाउने काम सहज छैन। कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद गाउँपालिका तथा पूर्वाधार विकास कार्यालयको समन्वयमा काम अघि बढाइएको अध्यक्ष लामाले जानकारी दिए।
हिमपातका कारण लिमी क्षेत्रको सडक सम्पर्क वर्षेनि प्रभावित हुँदै आएको छ। सडक अवरुद्ध हुँदा स्थानीयले भोग्नुपर्ने खाद्यान्न आपूर्ति, दैनिक उपभोग्य वस्तुको अभाव र आवतजावतको समस्यालाई ध्यानमा राख्दै यसपटक पनि हिउँ पन्छाउने काम सुरु गरिएको हो।
