परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।
बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी दिएका छन् । ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदूत तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान अवस्थाबारे अवगत गराइएको थियो । सो अवसरमा कूटनीतिक प्रतिनिधिहरूले विपद्प्रति दुःख व्यक्त गर्दै आ–आफ्ना सरकार र संस्थाका तर्फबाट ऐक्यबद्धता एवं सहयोगको प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । नेपाल सरकारले हालसम्म भएका खोज, उद्धार र राहतका प्रगतिबारे जानकारी दिँदै प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।
दाता सम्मेलन आयोजना गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता क्षेत्रीले यसबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिएका छन् । सम्मेलनका सम्बन्धमा हुने थप निर्णय र तयारीबारे पछि विस्तृत जानकारी गराइने उनले बताएका छन् ।
यसैगरी, चीनको केरुङ क्षेत्रमा रहेका करिब १ हजार ४ सय नेपाली नागरिकहरूको अवस्थाबारे मन्त्रालयले स्पष्ट पारेको छ । तीमध्ये करिब १ सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ताले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा आएका कतिपय अपुष्ट खबरहरूको खण्डन गर्दै उनले भने, ‘उहाँहरू हराएर फेला पर्नुभएको होइन, कामको सिलसिलामा केरुङमा रहनुभएका नेपालीहरू बाटो अवरुद्ध भएका कारण त्यहाँ रोकिनुभएको हो ।’
मन्त्रालयका अनुसार विपद्का कारण घरपरिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका साथ ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ । वैकल्पिक मार्ग प्रयोग गरेर भएपनि उनीहरूलाई छिट्टै नेपाल ल्याउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।
