विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले यस्तो प्रदर्शन गरेका हुन्।
यस सिजन एउटै खेलमा ६ विकेट लिने सन्दीप पहिलो बलर बनेका छन्। प्रतियोगिताका अघिल्ला पाँच खेलमा एक विकेट मात्रै लिएका उनले आफ्नो छैटौँ खेलमा भने विपक्षी टोलीको ब्याटिङ लाइनअपलाई दबाबमा पारे।
सन्दीपले पोखराविरुद्धको खेलमा १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे।
यससँगै उनी एनपीएलको इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन्। यसअघि विराटनगर किंग्सकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक लिएका थिए।
सन्दीपले आफ्नो स्पेलमा तीन ओभर बलिङ गर्दै २३ रन खर्चिएर ६ विकेट हात पारे। उनको घातक बलिङका कारण पोखरा एभेन्जर्सको मध्यक्रम धराशायी बनेको छ।
