राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षण, कृषि प्रवर्द्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताका पाँच महत्वपूर्ण सन्देश दिने बताएका छन्।
छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै झाले पर्वका विभिन्न पक्षले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
उनका अनुसार छठको पहिलो सन्देश पर्यावरण संरक्षण हो। पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका अन्य स्रोतहरूको सरसफाइ गर्ने परम्पराले जलस्रोत र वातावरण संरक्षणमा सहयोग पुर्याउँछ।
दोस्रो सन्देश कृषि उत्पादनको प्रवर्द्धनसँग सम्बन्धित रहेको उनले बताए। छठ पूजामा कृषि उपजलाई पूजा सामग्री तथा प्रसादका रूपमा प्रयोग गरिने भएकाले यसले कृषि उत्पादनको महत्व उजागर गर्ने उनको भनाइ छ।
त्यस्तै, छठ पर्वले सामाजिक समानताको अभ्यासलाई प्रोत्साहन गर्ने झाले बताए। जात, समुदाय वा आर्थिक अवस्थाको भिन्नता नराखी सबै श्रद्धालु एउटै घाटमा उभिएर पूजा गर्ने परम्परा यस पर्वको विशेषता रहेको उनले उल्लेख गरे।
छठको अर्को महत्वपूर्ण पक्ष अनुशासन रहेको उनको भनाइ छ। पाँच दिनसम्म व्रतालुहरूले निश्चित विधि र नियम पालना गरेर पर्व मनाउने परम्पराले अनुशासनको महत्व सिकाउने उनले बताए।
यसैगरी, छठले पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने झाले बताए। देश तथा विदेशमा रहेका परिवारका सदस्यहरू पर्व मनाउन घर फर्किने भएकाले यसले पारिवारिक एकता र आत्मीयता बढाउन सहयोग गर्ने उनको भनाइ छ।
पहिले मुख्यतः मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौं, पोखरा, बुटवल र धरानलगायतका सहरमा समेत विस्तार हुँदै गएको उनले जानकारी दिए।
