डेढ सयभन्दा बढी चलचित्रमा लेखन तथा केही चलचित्र निर्देशन गरिसकेका अधिकारी अहिले नयाँ फिल्म निर्माणको तयारीमा छन्। यद्यपि उनले निर्माण गर्न लागेको चलचित्रको कथावस्तु, विधा र अन्य कलाकारबारे अहिलेसम्म औपचारिक जानकारी दिएका छैनन्।
अधिकारीले पछिल्लो समय फेसबुकमा नयाँ परियोजनाबारे संकेत गर्दै लगातार पोस्ट गरिरहेका छन्। उनका पोस्टहरूमा गायक तथा कलाकार अशोक दर्जीलाई पटक–पटक ट्याग गरिएको देखिन्छ। यसले नयाँ फिल्ममा अशोकको सहभागिता हुन सक्ने चर्चा चलचित्र वृत्तमा सुरु भएको हो।
यसअघि शिवम् अधिकारीकै लेखनमा बनेको चलचित्र ‘मन बिनाको धन’ बाट अशोकले ठूलो पर्दामा डेब्यु गरेका थिए। त्यसपछि अधिकारीकै लेखन रहेको चलचित्र ‘पार्वती’ मा पनि उनी प्रमुख भूमिकामा देखिएका थिए। यही सहकार्यका कारण नयाँ परियोजनामा पनि अशोक जोडिन सक्ने अनुमान गरिएको छ।
तर, अधिकारीले अभिनेत्री पूजा शर्मासँग खिचिएको तस्बिर सार्वजनिक गर्दै अर्को रहस्य थपेका छन्। उनले उक्त तस्बिरसँगै ‘बाँकी कथा मङ्सिर ५ गतेदेखि’ भन्ने सन्देश दिएका छन्।
त्यसैगरी, निर्मात्री मिनु शर्माले पनि पूजा शर्मालाई नयाँ चलचित्रका लागि अनुबन्धित गरिएको तस्बिर सार्वजनिक गरेकी छन्। यसले पूजाको नयाँ फिल्ममा सहभागिता रहने संकेत गरेको छ।
एकातिर अशोक दर्जीलाई निरन्तर ट्याग गरिनु र अर्कोतिर पूजाको अनुबन्धसम्बन्धी तस्बिर सार्वजनिक हुनुले नयाँ चलचित्रबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।
के शिवम् अधिकारीले पूजा शर्मा र अशोक दर्जीलाई एउटै पर्दामा प्रस्तुत गर्न लागेका हुन् ? वा अशोकलाई लिएर छुट्टै चलचित्र निर्माणको तयारी भइरहेको छ ? अहिले यी प्रश्नको जवाफ खुलिसकेको छैन।
चलचित्रको वास्तविक कथावस्तु र कलाकारको संयोजनबारे थप जानकारी पाउन भने मङ्सिर ५ गतेसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
