शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत माग गरिएको छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा सडक दुर्घटनाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारलाई आग्रह गरेको छ।
विज्ञप्तिमा सडक दुर्घटनाका कारणहरूको गहिरो अध्ययन गरी सडकको अवस्था, सवारीसाधनको प्राविधिक स्थिति, चालकको जिम्मेवारी तथा यातायात व्यवस्थापनमा रहेका कमजोरी पहिचान गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीतिगत र व्यावहारिक सुधारका उपाय तत्काल कार्यान्वयन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिका–स्थित सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए।
