गत असोज दोस्रो साता आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको थियो। त्यसयता स्थानीय प्रशासनले सुरक्षाका कारण पुलको दुवैतर्फ आवागमन बन्द गरेको छ। पुल बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य कमी आएको छ।
होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार पुल बन्द भएपछि व्यवसाय सञ्चालन गर्नै कठिन भएको छ। पहिले दैनिक आठदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा अहिले व्यापार पूर्ण रूपमा प्रभावित भएको उनले बताए।
उनले दसैँ र तिहारको समयमा पर्यटकको चहलपहल बढ्ने भएकाले वर्षभरिको राम्रो आम्दानी यही समयमा हुने गरेको उल्लेख गरे। अहिले चार लेनको पुल हुँदै झोलुङ्गे पुल अवलोकन गर्न केही पर्यटक आउने गरे पनि उचित वातावरण नहुँदा उनीहरू निराश हुने गरेको सिंहको भनाइ छ।
दूरीका हिसाबले छोटो पर्ने भएकाले यसअघि दोधारा चाँदनीका स्थानीय तथा दुईपाङ्ग्रे सवारीसाधनले समेत उक्त झोलुङ्गे पुल प्रयोग गर्दै आएका थिए। पुल बन्द भएपछि उनीहरूलाई आवतजावतमा समेत असहज भएको छ।
पुलमा क्षति पुगेपछि प्राविधिक टोलीले स्थलगत अध्ययन गरी पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ खर्च लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्ष समय आवश्यक पर्ने प्रतिवेदन दिएको छ।
होटल व्यवसायी सिंहले महाकाली नदीमा पानीको सतह घटिसकेको अवस्थामा सरकारले पुल पुनर्निर्माणको काम तत्काल सुरु गर्नुपर्ने माग गरे। पुल सञ्चालनमा नआएसम्म दुवैतर्फका व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले पनि दसैँतिहारमा पर्यटकले भरिभराउ हुने झोलुङ्गे पुल अहिले सुनसान बनेको बताए। उनका अनुसार चाडपर्वका समयमा दैनिक दुईदेखि तीन हजारसम्म पर्यटक पुल अवलोकनका लागि आउने गरेका थिए।
हिउँदको समयमा विद्यालय तथा शैक्षिक संस्थाबाट हुने भ्रमणले समेत स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउने गरेको थियो। तर, पुल बन्द भएपछि पर्यटनसँग जोडिएका विभिन्न व्यवसायमा प्रत्यक्ष असर परेको वडाध्यक्ष बोहराले बताए।
पुल भत्किएलगत्तै अवस्था बुझ्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू पुगे पनि पुनर्निर्माणको काम अघि बढ्न नसकेको उनको गुनासो छ। उनले सम्बन्धित निकायलाई तत्काल निर्माण प्रक्रिया सुरु गर्न आग्रह गरेका छन्।
पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यद्यपि, पुनर्निर्माणको काम कहिले सुरु हुने भन्ने विषयमा अझै अन्योल कायम छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार दोधारा चाँदनी झोलुङ्गे पुल स्थानीयको आवागमन सहज बनाउने संरचना मात्र नभई कञ्चनपुरको प्रमुख पर्यटकीय आकर्षणसमेत हो।
पुल लामो समयसम्म सञ्चालनमा नआए पर्यटकको आगमन थप घट्ने र त्यसको असर स्थानीय अर्थतन्त्रमा पर्ने अध्यक्ष मल्लको भनाइ छ। उनले पर्यटन प्रवर्द्धन र व्यवसायीको आर्थिक गतिविधि पुनः चलायमान बनाउन पुलको पुनर्निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।
