• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बसाइँसराइले रित्तिएको सुपिङ गाउँमा पर्यटनको चहलपहल, पुराना घर बने आकर्षक रिसोर्ट

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
बसाइँसराइले रित्तिएको सुपिङ गाउँमा पर्यटनको चहलपहल, पुराना घर बने आकर्षक रिसोर्ट
0
SHARES
3
VIEWS

बागमती । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। स्थानीयले छाडेका पुराना घरलाई आकर्षक ढङ्गले पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको ‘सुपिङ गोर्ज क्याम्प’ले गाउँमा नयाँ रौनक थपेको छ।

त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजारबाट करिब चार किलोमिटरको दूरीमा रहेको सुपिङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ हो। तर रोजगारी, शिक्षा तथा अन्य अवसरको खोजीमा स्थानीय बासिन्दा हेटौँडा, काठमाडौंलगायत सहरमा बसाइँ सर्न थालेपछि गाउँका धेरै घर खाली भएका थिए।

यही अवस्थालाई अवसरमा बदल्दै पर्यटन व्यवसायी देवेन्द्र नेपालले स्थानीयका खाली रहेका नौवटा घर भाडामा लिएर सुपिङ गोर्ज क्याम्प सञ्चालनमा ल्याएका हुन्। पुराना घरलाई आवश्यक मर्मत तथा सजावट गरी रिसोर्टस्तरको सुविधा र ग्रामीण घरबासको मौलिक अनुभव एकै ठाउँमा उपलब्ध गराउने प्रयास गरिएको छ।

नेपालका अनुसार चराले छाडेको गुँडमा अर्को चरा आएर बस्ने प्राकृतिक मान्यताबाट प्रेरित भएर उनले ‘रिनेष्ट टुरिजम’को अवधारणा अघि सारेका हुन्। पर्यटनबाट व्यवसायीले मात्र नभई स्थानीय समुदायका तल्लो तहसम्मका नागरिकले पनि लाभ लिन पाउनुपर्ने उनको सोच छ।

उनले यसअघि पनि यस्तै अवधारणामा मकवानपुरकै चित्लाङमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। सुपिङमा सुरु गरिएको नयाँ प्रयासले पनि स्थानीय अर्थतन्त्र र गाउँको विकासमा योगदान पुर्‍याउन थालेको उनको भनाइ छ।

क्याम्प सञ्चालनमा आएसँगै गाउँका केही स्थानीयले रोजगारी पाएका छन्। यसअघि बाँझो रहेका खेतबारीमा पुनः खेतीपाती हुन थालेको छ भने स्थानीयस्तरमा उत्पादित तरकारी तथा फलफूलले बजार पाउन थालेका छन्।

सुपिङ गोर्ज क्याम्पका व्यवस्थापक सन्देश जोशीका अनुसार पुराना घरको पुनःव्यवस्थापन र होमस्टे सञ्चालनपछि गाउँमा पर्यटकको आवागमन बढेको छ। हेटौँडा र काठमाडौंलगायत स्थानबाट आन्तरिक पर्यटक आउने क्रम बढिरहेको छ। यहाँ आउने पाहुनाले ग्रामीण जीवनशैलीको अनुभव लिनुका साथै छोटो दूरीको हाइकिङसमेत गर्न पाउँछन्।

प्राकृतिक सुन्दरता र ऐतिहासिक सम्पदाको आकर्षण

सुपिङ गाउँ वरपरका हरियाली डाँडाकाँडा, चिसो हावापानी, प्राकृतिक वातावरण र मौलिक ग्रामीण जीवनशैलीका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।

गाउँको आसपासमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलले पनि यसको पर्यटकीय सम्भावना बढाएका छन्। प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी र हात्तीसार यहाँका प्रमुख आकर्षण हुन्।

रिसोर्टस्तरको सुविधा र गाउँले परिवेशको अनुभव लिन पाइने भएकाले विभिन्न स्थानबाट पर्यटक आउन थालेको व्यवस्थापक जोशी बताउँछन्। उनका अनुसार आन्तरिकसँगै विदेशी पर्यटकको आगमन पनि हुँदै आएको थियो। तर रसुवामा आएको बाढीपछि विदेशी पर्यटकको आगमनमा केही कमी आएको छ।

गाउँको प्राकृतिक सुन्दरता र मौलिक संस्कृतिलाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै आर्थिक गतिविधि बढाउनु क्याम्पको मुख्य उद्देश्य रहेको उनले बताए।

स्थानीय उत्पादनका परिकारमा पर्यटकको स्वाद

सुपिङ गोर्ज क्याम्पमा आउने पर्यटकलाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार खुवाउने विशेष व्यवस्था गरिएको छ। यसका लागि २६ रोपनी जग्गा वार्षिक एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने गरी लिइएको छ। त्यसमध्ये १५ रोपनीमा खेतीपाती भइरहेको छ।

खेतीबाट उत्पादित अर्गानिक वस्तुहरू नै पर्यटकका लागि तयार गरिने परिकारमा प्रयोग हुँदै आएका छन्। यसअघि परिसरमा सूर्यमुखी फूल खेती गरिएको थियो भने अहिले तोरी लगाइएको छ।

स्थानीयस्तरमा उत्पादन गरिएको सूर्यमुखीको तेल प्रयोग गरेर विभिन्न परिकार तयार गरिने गरिएको व्यवस्थापक जोशीले बताए। तोरी उत्पादन हुने समयमा आफ्नै खेतमा उत्पादित तोरीको तेल प्रयोग गर्ने योजना पनि रहेको उनले जानकारी दिए।

पर्यटकको रुचिअनुसार ढिँडो, लोकल कुखुरा, स्थानीय चामल र सिस्नोजस्ता परम्परागत परिकार उपलब्ध गराइन्छ। आगामी दिनमा आफ्नै परिसरमा उत्पादन हुने फलफूलसमेत पाहुनालाई खुवाउने उद्देश्यले एभोकाडो, नासपाती, अम्बालगायत फलफूलका बिरुवा रोपिएका छन्।

स्थानीयलाई रोजगारी, गाउँमै आर्थिक अवसर

सुपिङ गोर्ज क्याम्प सञ्चालन भएपछि स्थानीय बासिन्दाले गाउँमै रोजगारी पाउने अवसर प्राप्त गरेका छन्। गाउँकै युवा प्रमेश मगर क्याम्पमा काम गर्न पाउँदा खुसी छन्। रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता कम भएको उनको भनाइ छ।

व्यवस्थापक जोशीका अनुसार क्याम्पमा हाल नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उनीहरूमध्ये अधिकांश स्थानीय बासिन्दा छन्।

प्रत्यक्ष रोजगारीका अतिरिक्त स्थानीय किसानले उत्पादन गरेका सागसब्जी, गुन्द्रुक, दाल, अन्नलगायत सामग्री पनि क्याम्पले खरिद गर्ने गरेको छ। यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै किसानलाई खेतीपाती गर्न प्रोत्साहित गरेको छ।

बसाइँसराइका कारण सुनसान बनेको गाउँमा पर्यटक आउन थालेपछि स्थानीयको आर्थिक गतिविधि बढेको छ। खाली रहेका घरको सदुपयोग हुनुका साथै गाउँको सरसफाइ र सौन्दर्यमा समेत सुधार आएको स्थानीयको अनुभव छ।

पर्यटकका लागि फरक–फरक प्याकेज

सुपिङ गोर्ज क्याम्पले व्यक्तिगत पर्यटक, समूह तथा दम्पतीका लागि छुट्टाछुट्टै प्याकेज निर्धारण गरेको छ।

व्यवस्थापक जोशीका अनुसार पाँच जनासम्मको समूहमा आउने पर्यटकका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँको प्याकेज उपलब्ध छ। यसमा बेलुकाको खाना, राति बस्ने व्यवस्था र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ।

त्यस्तै, दम्पतीका लागि छ हजार रुपैयाँको प्याकेज छ। यसमा कोठा, रातिको खाना र बिहानको ब्रेकफास्टको सुविधा दिइन्छ।

काठमाडौं वा हेटौँडाबाट यातायात सुविधासहित आउन चाहने पर्यटकका लागि प्रतिव्यक्ति चार हजार पाँच सय रुपैयाँको प्याकेज तय गरिएको छ। पाँच जनाभन्दा बढीको समूहलाई यो सुविधा उपलब्ध गराइन्छ। व्यक्तिगत रूपमा आउने पर्यटकका लागि भने तीन हजार पाँच सय रुपैयाँको प्याकेज रहेको छ।

एकै दिन ७० जनासम्म राख्न सकिने क्षमता

क्याम्पमा दैनिक ४० देखि ७० जनासम्म पर्यटक राख्न सकिने क्षमता रहेको व्यवस्थापक जोशीले बताए। पारिवारिक समूहका लागि ३५ देखि ४० जनासम्म तथा विद्यार्थी समूहका लागि ७० जनासम्म बस्ने व्यवस्था गर्न सकिन्छ।

व्यवसाय सञ्चालनमा आएको एक वर्षको अवधिमा उपलब्ध क्षमताको करिब ६० प्रतिशतसम्म नियमित रूपमा पर्यटकले भरिने गरेको उनको भनाइ छ।

पर्यटकको सुविधाका लागि भाडामा लिइएका घरमध्ये चारवटा घरलाई सजावट गरी पाहुना राख्न प्रयोग गरिएको छ। यसबाहेक छवटा कटेज पनि सञ्चालनमा ल्याइएको छ।

आकर्षक बत्तीको सजावट, ढुङ्गेधाराको शैलीमा बनाइएका पानीका धारा, व्यवस्थित स्नान कक्ष र शौचालयले क्याम्पलाई थप आकर्षक बनाएका छन्। रातिको समयमा परिसरभरि गरिएको बत्तीको व्यवस्थापनले छुट्टै रमणीय वातावरण सिर्जना गर्छ।

परिसरमा सानो पौडी पोखरीसमेत निर्माण गरिएको छ। पुराना घरलाई रातो माटो र कमेरोले लिपपोत गरी ग्रामीण परिवेश झल्कने गरी सजाइएको छ। परम्परागत सन्दुक, ठेकी, जाँतो र हलोजस्ता सामग्रीको प्रयोगले गाउँको मौलिक पहिचानलाई जोगाउने प्रयास गरिएको छ।

क्याम्प सञ्चालनका लागि लिइएका घरको मासिक भाडा २७ हजार सात सय रुपैयाँ रहेको छ।

स्थानीयका अनुसार विगतमा खाली घर वरपर झाडी र फोहोर बढ्दै गएको थियो। अहिले ती घरको पुनःप्रयोग, सरसफाइ र आकर्षक सजावटले गाउँको स्वरूप नै परिवर्तन गरेको छ।

यसरी बसाइँसराइका कारण रित्तिँदै गएको सुपिङ गाउँमा पर्यटन व्यवसायले नयाँ सम्भावना सिर्जना गरेको छ। पुराना घरको सदुपयोग, स्थानीय उत्पादनको बजारीकरण र गाउँमै रोजगारीको अवसर विस्तार गर्दै सुपिङले ग्रामीण पर्यटनको सम्भावना उजागर गर्न थालेको छ।


Previous Post

नेपाल–भारतको सांस्कृतिक एकताको प्रतीक बन्यो महोत्तरीको दुई किलोमिटर लामो संयुक्त छठ घाट

Next Post

बलिउड कलाकारमाथि गोली प्रहार र फिरौतीको धम्की बढ्दै, सेलिब्रेटीको सुरक्षा व्यवस्था कडा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav