भारतीय प्रहरीले पछिल्ला घटनामा जेलमा रहेका कुख्यात अपराधी लरेन्स बिश्नोईको गिरोहको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ। गत अक्टोबरमा अभिनेता टाइगर श्राफको गाडीलाई लक्षित गरी गोली प्रहार भएको थियो। त्यस्तै, अभिनेता तुषार कपुरसँग ६ लाख अमेरिकी डलर फिरौती मागिएको घटना पनि सार्वजनिक भएको थियो।
यी घटनासँग सम्बन्धित गोली प्रहारमा संलग्न रहेको आरोपमा सङ्गठित अपराध नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत १३ जनालाई पक्राउ गरिएको छ।
अभिनेता तथा सुरक्षा सेवा कम्पनीका सञ्चालक रोनित रोयका अनुसार पछिल्लो समय कलाकार र उनीहरूका परिवारले व्यक्तिगत सुरक्षाका लागि अङ्गरक्षक राख्न थालेका छन्। यसले बलिउड क्षेत्रमा सुरक्षा चिन्ता बढ्दै गएको देखाएको छ।
लेखक एस हुसेन जैदीले भने केही अवसरवादी अपराधीले चर्चित आपराधिक गिरोहको नाम प्रयोग गरेर कलाकारलाई त्रसित बनाउने प्रयास गरिरहेको बताएका छन्।
यसैबीच, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ सुरक्षा घेराभित्रबाट प्रशंसकलाई अभिवादन गरेका छन्। अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा सतर्कता बढाइएको छ।
१९९० को दशकको आपराधिक प्रभावको पुनः चर्चा
सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव व्यापक थियो। त्यसबेला चलचित्र निर्माण, कलाकार छनोट तथा वितरण प्रक्रियामा प्रभाव जमाउन विभिन्न गिरोहले निर्माता र कलाकारलाई फिरौती तथा धम्की दिने गरेका थिए।
दाउद इब्राहिम र छोटा राजन त्यस समयका चर्चित आपराधिक समूहका नेतृत्वकर्ता थिए। सन् १९९९ पछि प्रहरीले सङ्गठित अपराधविरुद्ध कारबाही तीव्र बनाएसँगै चलचित्र क्षेत्रमा व्यावसायिक लगानी बढ्यो। त्यसपछि चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव क्रमशः कमजोर हुँदै गएको थियो।
पछिल्लो समय चर्चामा रहेको लरेन्स बिश्नोईको गिरोहलाई अभिनेता सलमान खानविरुद्ध दिइएका धम्कीसँग पनि जोडिएको छ। सन् १९९८ मा कालो हरिणको सिकार गरेको आरोपपछि सलमानलाई विभिन्न धम्की आएको थियो।
भारतीय अधिकारीहरूले बिश्नोई गिरोहका सदस्यले सलमान खानको निवासबाहिर गोली चलाएको तथा सन् २०२४ मा राजनीतिज्ञ बाबा सिद्दिकीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै आएका छन्।
अपराध पत्रकार अहमद अलीका अनुसार पछिल्लो समय सार्वजनिक भएका केही धम्की बिश्नोईको नाम प्रयोग गरेर फाइदा लिन खोज्ने व्यक्तिहरूका प्राङ्क कलसमेत हुन सक्छन्। त्यसैले सबै घटनालाई एउटै गिरोहसँग जोडेर हेर्न नहुने उनको धारणा छ।
सन् १९९० को दशकमा फिरौती र धम्कीको सामना गरेका चलचित्र निर्देशक राजीव रायले भने अहिले देखिएका घटनाको उद्देश्य विगतको तुलनामा फरक हुन सक्ने बताएका छन्।
यसैगरी, निर्माता बोनी कपुरले पछिल्लो समय देखिएको हिंसात्मक गतिविधि लामो समयसम्म नटिक्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, कलाकारलाई लक्षित गरी भइरहेका गोली प्रहारका घटनालाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ।
