बिहीबारदेखि सुरु भएको सम्मेलनमा युरोपका करिब ५० देशका नेताहरू सहभागी छन् । डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनको सहअध्यक्षता आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गरिरहेका छन् ।
‘बलियो, सुरक्षित र जोडिएको युरोप’ भन्ने नारासहित आयोजना गरिएको सम्मेलनमा युरोपको आर्थिक प्रतिस्पर्धात्मक क्षमता वृद्धि, नवीन प्रविधिको प्रवर्द्धन, ऊर्जा सहकार्य तथा सुरक्षा चुनौती सामना गर्ने क्षमतामा सुधार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
विशेषगरी विदेशी हस्तक्षेप तथा विभिन्न माध्यमबाट हुने अप्रत्यक्ष र मिश्रित आक्रमणबाट युरोपलाई सुरक्षित राख्ने विषयले सम्मेलनमा प्राथमिकता पाउनेछ ।
त्यस्तै, रुस–युक्रेन युद्ध पनि सम्मेलनको प्रमुख एजेन्डा बनेको छ । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास पुनः अघि बढिरहेका बेला युरोपेली नेताहरूले यस विषयमा साझा धारणा निर्माण गर्दै आपसी समन्वय गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपेली संघका सदस्य तथा गैरसदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि अतिथिका रूपमा सम्मेलनमा सहभागी भएका छन् ।
उनको सहभागिताले युरोपेली संघबाहिरका मुलुकसँग समेत राजनीतिक संवाद र सहकार्य विस्तार गर्ने मञ्चका रूपमा सम्मेलनको महत्त्वलाई उजागर गरेको छ ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव मार्क रुटेले पनि सम्मेलनका क्रममा युरोपेली नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेटोका अनुसार उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि भेट गर्नेछन् । सम्मेलनका क्रममा रुटेले सञ्चारकर्मीसँग कुराकानी गर्ने कार्यक्रमसमेत रहेको छ ।
सन् २०२२ मा स्थापना भएको युरोपेली राजनीतिक समुदाय युरोपेली संघको सदस्यता भएका वा नभएका सबै युरोपेली मुलुकबीच राजनीतिक संवाद र सहकार्य प्रवर्द्धन गर्ने अनौपचारिक मञ्च हो ।
डब्लिनमा आयोजित यो सम्मेलनपछि शुक्रबार युरोपेली संघका सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरूको अनौपचारिक बैठक पनि हुँदैछ । उक्त बैठकमा युरोपेली संघका आगामी रणनीतिक प्राथमिकताबारे छलफल हुने अपेक्षा गरिएको छ ।
