उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच आन्ध्र प्रदेशको विशाखापट्नममा द्विपक्षीय भेटवार्ता भएको हो।
३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटमा व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली वस्तुको भारतीय बजारमा पहुँच विस्तारलगायत विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
भेटवार्तामा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गर्दा गुणस्तर प्रमाणीकरण र भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणपत्र लिन भोग्नुपरेका प्रक्रियागत कठिनाइबारे भारतीय पक्षको ध्यानाकर्षण गराए।
विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागोलगायत औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सरल, सहज र निश्चित समयभित्र सम्पन्न हुने व्यवस्था मिलाउन उनले आग्रह गरे।
नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्ताव
दुई मन्त्रीबीचको छलफलको महत्वपूर्ण विषय नेपालमै भारतीय मानक ब्युरोको मापदण्डअनुसार परीक्षण गर्न सकिने प्रयोगशाला स्थापना गर्ने प्रस्ताव रह्यो।
उक्त प्रस्तावप्रति भारतीय मन्त्री गोयलले सकारात्मक चासो देखाउँदै आवश्यक प्रक्रिया अघि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई निर्देशन दिएका छन्।
नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण तथा प्रमाणीकरण सुविधा उपलब्ध भए नेपाली उद्योगले भारतमा वस्तु निर्यात गर्दा लाग्ने समय, खर्च र प्रशासनिक झन्झट कम हुने अपेक्षा गरिएको छ। यसबाट नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता पनि बढ्ने विश्वास गरिएको छ।
थप बन्दरगाह र व्यापार सन्धि पुनरावलोकनको विषय उठ्यो
भेटवार्तामा नेपालका लागि भारतको ओडिशास्थित धाम्रा र गुजरातस्थित मुन्द्रा बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।
त्यस्तै, नेपाल–भारत व्यापार सन्धि पुनरावलोकन प्रक्रिया अघि बढाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएको अतिरिक्त भारवहन प्रतिबन्ध तथा ढुवानीसम्बन्धी अवरोध हटाउने विषयमा पनि मन्त्री साहले प्रस्ताव राखेका छन्।
यसैगरी, कोलकाता बन्दरगाहमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले भाडामा लिएको जग्गाको सम्झौता नवीकरण गर्ने वा उपयुक्त वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
चिया, जुट र कृषि उत्पादनको निर्यात सहज बनाउन पहल
नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार गर्ने क्रममा नेपाली जुटजन्य वस्तुमा लगाइएको शुल्क तथा प्रतिकारात्मक शुल्क पुनरावलोकनको विषय पनि उठाइएको छ।
त्यसैगरी नेपाली चियालाई भारतीय बजारमा निर्बाध प्रवेशको व्यवस्था मिलाउने तथा कृषि उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरण प्रक्रिया सहज बनाउने विषयमा छलफल भएको छ।
नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका योग्य र मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय निकायले मान्यता दिने प्रस्ताव पनि प्रस्तुत गरिएको थियो।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षणसम्बन्धी पूर्वाधार र सुविधा विस्तार गर्ने विषयलाई समेत छलफलमा समेटिएको छ।
व्यापार सहजीकरणमा भारतीय पक्ष सकारात्मक
भेटवार्ताका क्रममा मन्त्री साहले नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
भारतीय मन्त्री गोयलले नेपालले उठाएका विषयप्रति सकारात्मक चासो व्यक्त गर्दै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफलमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।
यस भेटवार्ताबाट नेपाल–भारतबीचको आर्थिक तथा औद्योगिक सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, निर्यात प्रवर्द्धन गर्न र व्यापारिक अवरोध घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलमा उठेका विषयलाई कार्यान्वयनमा लैजान भारतीय पक्षसँग संस्थागत समन्वय र निरन्तर अनुगमन गर्ने जनाएको छ।
