काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारका पछिल्ला गतिविधिप्रति आपत्ति जनाउँदै लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रलाई निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित गर्न नहुने बताए। लोकतान्त्रिक विधि, पद्धति र संस्थागत स्वतन्त्रताको सम्मान पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो।
शिवाकोटीले सरकार लोकतान्त्रिक प्रक्रियाबाट गठन भए पनि पछिल्ला गतिविधिले राज्यका निकाय, संवैधानिक अंग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढाएको आरोप लगाए। कर्मचारीतन्त्रलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण नदिइएको र उनीहरू त्रासपूर्ण अवस्थामा काम गर्न बाध्य भएको उनको दाबी थियो।
दुई तिहाइ नजिकको समर्थनसहित बनेको सरकारले आफ्नै राजनीतिक भारसमेत सम्हाल्न नसकेको टिप्पणी गर्दै उनले सरकार र त्यसलाई सञ्चालन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको बताए।
सरकार र पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत एकरूपता नरहेको उल्लेख गर्दै शिवाकोटीले रास्वपा आफ्नै सरकारप्रति अन्योलमा रहेको टिप्पणी गरे।
उनले भने, ‘रास्वपालाई मेरो सरकार हो कि अर्काको सरकार हो भन्ने अवस्थामा पुगेको छ। आफ्नै पार्टीले सरकारलाई सहयोग गरिरहेको छैन भन्ने आधारमा त्यहाँभित्र यो पक्ष र त्यो पक्ष भन्ने अवस्था सिर्जना भएको छ।’
सरकारमाथि उठिरहेका प्रश्नबाट ध्यान मोड्न बालुवाटार र ज्वागलबाट प्रचार अभियान चलाइएको आरोप पनि उनले लगाए। प्रधानमन्त्री, उनका निकट व्यक्तिहरू तथा प्रमुख सल्लाहकारमार्फत भइरहेको भनिएको प्रचारले लोकतान्त्रिक संस्थालाई बलियो बनाउने काम नगरेको उनको भनाइ थियो।
सरकारले उठेका प्रश्नको जवाफ दिनुको सट्टा कांग्रेसलाई लक्षित गरेर घेराबन्दी गर्ने र बदनाम गराउने प्रयास गरिरहेको शिवाकोटीले दाबी गरे। विगतमा आफूसँगै काम गरेका व्यक्तिहरूलाई एजेन्टका रूपमा प्रयोग गरी कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको उनको आरोप थियो।
कांग्रेसले भने सरकारका कामको गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नीति लिएको उनले स्पष्ट पारे।
सरकारले अहिलेका गतिविधि नसच्याए गत भदौ २४ गतेको घटनाजस्तै परिस्थिति दोहोरिन सक्ने चेतावनी दिँदै शिवाकोटीले सरकारको नेतृत्वमा रहेकाहरूले हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आउन सक्ने बताए।
जेनजी आन्दोलनपछि पनि देशको अवस्था सामान्य भइनसकेको उल्लेख गर्दै उनले असन्तुष्टि जुनसुकै बेला आन्दोलन वा विद्रोहका रूपमा प्रकट हुन सक्ने चेतावनी दिए।
उनले देशको वर्तमान अवस्थालाई ‘भुसको आगो’ सँग तुलना गर्दै सरकारले सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
