काठमाडौँ । छठ पर्वको समापनका अवसरमा सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित हुने भएको छ।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनले पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको थियो।
तर, छठ पर्वको अन्तिम दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि सो दिनका लागि निर्धारण गरिएका सबै मुद्दाको सुनुवाइ प्रभावित हुने भएको छ। सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहनेछन्।
छठ पर्वको समापनका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा छ। यही अवसरमा सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीका अनुसार सार्वजनिक बिदाका कारण उक्त दिनका लागि तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित हुनेछ। स्थगित मुद्दाको अर्को पेसी अदालत खुलेपछि निर्धारण गरिने उनले जानकारी दिएका छन्।
