नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौमा आएको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले बाढीका कारण धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित हुँदा राहत वितरणमा समेत समस्या भएको बताए ।
उनले धादिङको कृष्णभीर र परेवाभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन तथा वैकल्पिक मार्ग निर्माण गर्नसमेत सरकारसँग माग गरे । सांसद कँडेलले बाढीका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब १० प्रतिशतसम्म ह्रास हुनसक्ने बताए । सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसमेत उक्त बाढी चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
बुढीगण्डकी आयोजना आफैँ अघि नबढ्दा त्यसबाट अन्य विकासका कामसमेत प्रभावित भइरहेकाले आयोजनाको डीपीआर तथा डिजाइन पुनरावलोकन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
उनले भने, ‘हामीले भोगेको यो दुर्घटनाले कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतजति नोक्सान हुने स्थिति छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । त्यो प्राप्त हुने सम्भावना अत्यन्त न्यून हुँदै गएको स्थिति छ । १० र १३ भदौमा आएको बाढीले धादिङ जिल्लाको तल्लो बेनीघाट, रोराङ, बुढीगण्डकी जोडिसकेपछि बुढीगण्डकीमा आएको बाढी र यताको बाढी दुईवटा जोडिएको कारणले गर्दा क्रमशः त्यहाँ कृष्णभीर लड्यो । धेरै पुलहरू बगाए र अन्य घरहरू पनि थुप्रै नोक्सानमा पुर्याएको स्थिति छ । त्यसभन्दा यता परेवाभीर भन्ने फुर्केखोला नजिकै त्यहाँ पनि काटिएको स्थिति छ । अहिले दुई ठाउँमा पूरै सडक त्रिशूलीले कटाएर लगेको स्थिति छ । धादिङको सदरमुकाम अहिले सम्पर्कविच्छेदमा परेको छ । पुल बगाइसकेपछि नुवाकोटको आधा भाग काटिएको छ र त्यस्तैगरी रसुवाका पनि थुप्रै भागहरू काटिएका छन् । यो स्थितिमा हामीले पूर्वाधारलाई ध्यान दिएर हेर्नुपर्ने स्थिति छ ।’
उनले विपद्पछि खोज, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
