पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौं जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा सुरु गरिएको छ ।
नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि निःशुल्क खाना वितरण थालिएको हो ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर यातायात अवरुद्ध भएको छ । त्यसपछि त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ । सडकको कमजोर अवस्था, एकतर्फी यातायात र लामो ट्राफिक जामका कारण यात्रु तथा चालकहरू घण्टौँसम्म हेटौँडामा रोकिनुपर्ने अवस्था सिर्जना भएपछि राहतस्वरूप भोजन सेवा सञ्चालन गरिएको नागरिक समाज मकवानपुरले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गतको खाद्य तथा स्वच्छता क्लस्टर र नागरिक समाजबीच भएको छलफलपछि अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको अवस्था सामान्य भई सवारी आवागमन सहज नहुँदासम्म अभियानलाई निरन्तरता दिइनेछ ।
दैनिक दुई चरणमा खाना वितरण गर्ने तयारी गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म खाना उपलब्ध गराइनेछ । अभियानमार्फत दैनिक करिब ४ सयदेखि ५ सय जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ ।
स्थानीय रमिला सापकोटाले सडक अवरुद्ध भएकाले त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने यात्रुले बाटोमा सहज रूपमा खाना नपाउने अवस्था रहेकाले हेटौँडामा खाना खुवाएर पठाउने काम सुरु गरिएको बताउनुभयो । पैसा हुँदा पनि खान नपाउने परिस्थिति रहेकाले यात्रु तथा चालकको सहजताका लागि यो कदम चालिएको उहाँले बताउनुभयो ।
लामो दूरीका बसका यात्रु, एम्बुलेन्स तथा ढुवानीका सवारीसाधनका चालक र बाढी प्रभावित क्षेत्रबाट आएका विपन्न यात्रुलाई प्राथमिकतामा राखिएको नागरिक समाजकी रमिला सापकोटाले बताउनुभयो ।
अभियानलाई आगामी दिनमा हेटौँडाका विभिन्न सामाजिक संघसंस्था तथा सहयोगी समूहको सहभागितामा निरन्तरता दिने तयारी गरिएको छ । विभिन्न संस्थाले आलोपालो गरी खाना पकाउने र वितरण गर्ने जिम्मेवारी लिने व्यवस्था गरिएको छ ।
निःशुल्क भोजन पाएपछि यात्रु तथा चालकहरूले अभियानलाई समयसापेक्ष र मानवीय पहलका रूपमा लिएका छन् । लामो समयसम्म सडकमा रोकिँदा खानाको समस्या झेलिरहेका यात्रुहरूका लागि यसबाट तत्काल राहत मिलेको उनीहरूको भनाइ छ ।
पृथ्वी राजमार्ग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै त्रिभुवन राजपथ र कान्ति लोकपथबाट काठमाडौं जाने सवारीसाधनको चाप हेटौँडामा उल्लेख्य रूपमा बढेको छ । दैनिक उपभोग्य सामग्री, इन्धन तथा अन्य सामान बोकेका ढुवानीका सवारीसाधनसँगै यात्रुवाहक बससमेत यही मार्गबाट सञ्चालन भइरहेकाले हेटौँडाबाट काठमाडौं जोड्ने वैकल्पिक सडकमा यातायातको चाप बढेको हो ।
