२३ साउन, वीरगन्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दाको चाप घट्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार मुद्दाको फर्छ्यौट दरमा उल्लेख्य सुधार आएको छ ।
गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका ३,५९४ र नयाँ दर्ता भएका ४,६३० गरी कुल ८,२२४ मुद्दामध्ये ५,८४६ वटा (७१.८ प्रतिशत) फर्छ्यौट भएका छन् । यसअघि आर्थिक वर्ष २०८१/०८२ मा ५६.८५ प्रतिशत र आर्थिक वर्ष २०८०/०८१ मा ५६.६० प्रतिशत मुद्दा मात्र फछ्र्यौट भएका थिए ।
अदालतमा दर्ता हुने मुद्दामध्ये अधिकांश जग्गा किचलो, लिखत बदर, अंश तथा फौजदारीतर्फ ज्यान सम्बन्धी र लागूऔषधका रहेका छन्। अस्थायी इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार समाजमा देखिएको सकारात्मक परिवर्तन र जनचेतनाका कारण मुद्दाको संख्या घटेको हो ।
हाल वीरगन्ज इजलासमा फैसला हुन बाँकी मुद्दाको संख्या २,३७८ (१,३५९ मुद्दा र बाँकी रिट लगायत) रहेको छ । १८ महिना नाघेका मुद्दाको संख्या अघिल्लो वर्ष १५७ रहेकोमा यस वर्ष घटेर २१ मा सीमित भएको रजिष्ट्रार तारादत्त बडुले जानकारी दिए ।
वीरगन्ज चिनी कारखानाको प्रशासनिक भवनमा सीमित पूर्वाधार र जनशक्तिका बिच सञ्चालित भए पनि पाटन उच्च अदालतपछिको यो दोस्रो ठूलो अस्थायी इजलासले ७१.८ प्रतिशत न्याय सम्पादन गर्नु ऐतिहासिक उपलब्धि मानिएको छ ।
