२१ भदौ, पाल्पा । पाल्पामा चालु आर्थिक वर्षको सुरुवातसँगै डेंगु संक्रमण बढेको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउनदेखि भदौ २० गतेसम्म २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यो संख्या लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी हो।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार पाल्पाका प्रमुख अस्पतालहरूमा उपचारका लागि पुगेका बिरामीको परीक्षण गर्दा संक्रमण पुष्टि हुने क्रम बढेको हो। पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा गरिएको परीक्षणमा संक्रमित भेटिएका छन्। जिल्लाका अन्य स्वास्थ्य संस्था तथा निजी मेडिकलमा पनि डेंगुका बिरामी बढिरहेका छन्।
बाहिरी जिल्लाबाट उपचारका लागि पाल्पा आउने बिरामीमा समेत संक्रमण देखिन थालेकाले जिल्लाको कुल संक्रमित संख्या बढी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जलवायु परिवर्तन, वर्षायाम र डेंगु परीक्षणको पहुँच विस्तार हुनु संक्रमण बढ्नुका कारण मानिएको छ।
पाल्पामा यसअघि आर्थिक वर्ष २०८२/८३ मा ४३२, २०८१/८२ मा ५१० र २०८०/८१ मा ६८६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। वर्षायाममा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले संक्रमणको जोखिम बढ्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। संक्रमण हुँदा उच्च टाउको दुखाइ, आँखाको पछाडिको भाग दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने र छालामा बिबिरा देखिने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा रक्तश्राव तथा बेहोस हुने समस्या पनि हुन सक्छ।
स्वास्थ्यकर्मीहरूले डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेले प्रजनन गर्ने ठाउँ नष्ट गर्न आग्रह गरेका छन्। घर तथा वरपर पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिन उनीहरूको सुझाव छ।
