काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय भएको छ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो विषम परिस्थिति तथा बाढीपहिरो प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राख्दै वडा अधिवेशनको मिति एक साता सार्ने निर्णय गरेको हो।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार वडा अधिवेशन असोज ३ वा ४ गतेसम्म गर्ने तयारी गरिएको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षतिलाई ध्यानमा राखेर महाधिवेशन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशन भने यसअघि नै असोज १६ देखि १९ गतेसम्म गर्ने तय भइसकेको छ।
क्रियाशील सदस्यतामा लचकता
महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यताको विषयमा पनि कांग्रेसले लचकता अपनाउने निर्णय गरेको छ।
०८२ पुस २१ गतेसम्म तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिले टुंग्याएको क्रियाशील सदस्यता नवीकरणलाई आधार मानेर महाधिवेशनमा जाने निर्णय गरिएको सहमहामन्त्री चौधरीले जानकारी दिए।
यससँगै महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यता अनिवार्य रूपमा तत्काल अद्यावधिक गराउनुपर्ने बाध्यता हटेको छ। महाधिवेशन सम्पन्न नभएसम्म सदस्यता अद्यावधिक गर्ने प्रक्रिया भने जारी रहने कांग्रेसले जनाएको छ।