काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो कि सकेन भन्दै प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनको भावनाअनुसार मुलुक अगाडि बढे–नबढेको विषयमा समीक्षा गर्न आवश्यक रहेको बताइन्।
उनले २३ भदौको आन्दोलन जेन–जीहरूको भए पनि २४ भदौमा आन्दोलन ‘हाइज्याक’ भएको दाबी गरिन्। आन्दोलन कब्जा गरी सयौँ वर्ष लगाएर निर्माण गरिएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको संरचना ध्वस्त पारिएको उनले बताइन्।
मंगलबार शहीद दिवसका दिन माइतीघर मण्डलामा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर हुनुपर्ने बताउँदै उनले नागरिकलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुर्याउने वातावरण किन निर्माण भयो भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो कि सकेन ? त्यो ठूलो चुनौतीको विषय बनेको छ। २३ भदौको आन्दोलन साँचिकै जेन–जीहरूको आन्दोलन थियो। २४ गते जेन–जी आन्दोलनलाई हाइज्याक गरियो र हामीले सयौँ वर्ष लगाएर बनाएका संरचना ध्वस्त बनाए।’
‘हिजो शहीद दिवस मनाउँदै गर्दा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गर्नुभएको घटनामा म गम्भीर छु। किन आज नागरिकलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्मको वातावरण निर्माण गरियो ? घाइतेहरूको उपचार किन भएन ? आज किन शहीदका सपना पूरा हुन सकेनन् ? २४ गते सिंहदरबार जलाउने को थियो ? जेन–जीहरूले आज २४ भदौको ध्वंसको जिम्मा लिँदैनौँ भनिरहेका छन्,’ उनले भनिन्।
सांसद विकले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।
— न्युज एजेन्सी नेपाल
