राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
विहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसके पनि सरकारी संरचना भने निर्माण हुन नसकेको बताए । राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने अझै सुस्त रहेको उनको भनाइ छ । सिंहदरबार र संसद्लगायतका भवन हालसम्म पनि जस्ताकोतस्तै रहेको उनले बताए ।
राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने ? उनले प्रश्न गरे ।
उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । नेपालको बजेट नै नयाँ संसद् हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु । राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? के–के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्, त्यो पत्ता लगाऔँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऔँ, बिफोर इट्स टु लेट ।’
उनले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गरे ।
