नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदीसमेतलाई जोडेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिले नेपालको पूर्वसूचना प्रणाली, उद्धार क्षमता र पूर्वाधार निर्माणको मोडलमाथि नै प्रश्न खडा गरेको पनि बताए । उनले विपद्का कारण परिवारजन गुमाउने, बेपत्ता हुने तथा कठिन अवस्थामा जीवन बिताउन बाध्य नागरिकको संख्या ठूलो रहेको भन्दै उनीहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले रसुवा बाढीका कारण मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर परेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पनि अपिल गरे । सांसद थापाले विपद्बाट विस्थापित नागरिक र परिवारको पक्षमा राज्यले तत्काल दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आज नेपालको पूर्वाधार, विपद् पूर्वाधार, पूर्वसूचना, उद्धार क्षमता र पुनःनिर्माण प्रणालीमाथि पनि ठूलो प्रश्न उठेको छ । अब हामीले वर्षा मात्र होइन, हिमाल र हिमनदीलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ । परिवारले आफ्ना परिवारजन गुमाएका छन् । हजारौँ बेपत्ता छन् । कतिपयको जीवन कठिन अवस्थामा छ । घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीमा भएको क्षतिले मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पु¥याएको छ । यस सदनले सर्वप्रथम विपत्तिबाट विस्थापित नागरिक र परिवारको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । तत्कालीन प्राथमिकतामा राहत, उद्धार, सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ ।’
बाढीपीडित नागरिकलाई तत्काल राहत तथा उद्धारसँगै सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था सरकारको प्राथमिकतामा हुनुपर्ने समेत बताए ।
