काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै बिक्री गरेर १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई हाल काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।
प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले थापा मगरलाई नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको साथबाट ८६५ ग्राम नक्कली सुन बरामद गरिएको छ। ठगीसम्बन्धी घटनामा अनुसन्धान अघि बढाउन प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।
अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
