रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सडकबाट करिब ५० मिटर तल जिप खस्दा चालक सुन्दर खड्का मगर र स्थानीय १५–१६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै ज्यान गएको हो। खड्का मगर त्रिवेणी गाउँपालिका–रुघाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर आवश्यक पर्ने भएपछि सानीभेरी गाउँपालिकाले उद्धारका लागि पहल थालेको छ।
गाउँपालिकाले हेलिकप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई अनुरोध गरेको छ। गाउँपालिकाको पत्रअनुसार जिल्ला प्रशासनले गृह मन्त्रालयमा हेलिकप्टर उपलब्ध गराउन पत्र पठाइसकेको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिएका छन्।
गम्भीर घाइतेलाई सानीभेरीबाट सुर्खेतसम्म तत्काल हवाई उद्धार गर्नुपर्ने अवस्था रहेको भन्दै गाउँपालिकाले उद्धारको खर्च आफैं व्यहोर्ने गरी हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको प्रशासनले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
