काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ३२ विद्यालय प्रभावित भएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अनुसार बाढीबाट ती विद्यालयमा अध्ययनरत ९ हजार ४२८ बालबालिका प्रत्यक्ष प्रभावित भएका छन्।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलले शुक्रबार आयोजित ‘बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीहरूको दायित्व’ विषयक छलफल कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।
प्रारम्भिक विवरणअनुसार प्रभावित बालबालिकामध्ये १ हजार ३७३ जना घरबाट विस्थापित भई होल्डिङ सेन्टरमा बसिरहेका छन्। त्यस्तै, ४८८ विद्यार्थी अझै परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आउन नसकेको र पाँच जना विद्यार्थीको मृत्यु भएको पौडेलले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा बालबालिकासँगै ज्येष्ठ नागरिक, सुत्केरी महिला र अपांगता भएका बालबालिका बढी जोखिममा रहेको पाइएको उनले बताए।
पौडेलले विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षालाई तत्काल प्राथमिकतामा राख्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरे। विशेषगरी अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा संवेदनशील भएर काम गर्नुपर्ने उनको भनाइ छ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले विपद्का बेला सञ्चारमाध्यमले आवाज उठाउन नसक्ने समुदाय र व्यक्तिका समस्यालाई प्राथमिकताका साथ सार्वजनिक गर्नुपर्ने बताए। बालबालिकासम्बन्धी समाचार सम्प्रेषण गर्दा उनीहरूको अधिकार, गोपनीयता र मानसिक संवेदनशीलताको सम्मान गर्नुपर्ने उनले बताए।
प्लान इन्टरनेशनलका पोलिसी म्यानेजर इर्शाद अहमद अन्सारीले विपद्का समयमा बालबालिकासँग सम्बन्धित विषयलाई सञ्चारमाध्यमले विशेष महत्त्व दिनुपर्ने बताए। बालबालिकाको क्षेत्रमा आवश्यकताअनुसार सिजपसँग सहकार्य गर्न संस्था तयार रहेको उनले उल्लेख गरे।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालबालिकासम्बन्धी विषयमा गलत गतिविधि वा तथ्यहीन सूचना सार्वजनिक भए त्यसविरुद्ध सिजपले सार्वजनिक रूपमा आवाज उठाउनुपर्ने धारणा राखे। उनीहरूले बालअधिकारसँग सम्बन्धित विषयमा सरकारी तथा अन्य सरोकारवाला निकायसँगको वकालत र पैरवीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए।
