बुटवल । बुटवलका व्यवसायी तथा सामाजिक अभियन्ता थानेश्वर पौडेलले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा जम्मा गरेका हुन्।
पौडेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो नागरिक जिम्मेवारी ठानेर व्यक्तिगत तर्फबाट सहयोग गरेको बताएका छन्।
उनका अनुसार रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो क्षमताअनुसार योगदान गर्न आवश्यक छ।
पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी हुनुका साथै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सञ्चालक समितिका अध्यक्षसमेत हुन्।
पौडेलले आफू अध्यक्ष रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए।
व्यक्तिगत र संस्थागत रूपमा गरिएको सहयोगसहित बाढी प्रभावितको राहतका लागि पौडेलको तर्फबाट कुल ९० लाख २५ हजार रुपैयाँ योगदान भएको छ।
