काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी, संकीर्णतावादी तथा स्वतन्त्रताविरोधी गतिविधि लामो समयसम्म टिक्न नसक्ने बताएका छन्।
आइतबार छापा सञ्चारमाध्यमका पत्रकारहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै ओलीले मुलुकमा स्वतन्त्रता र लोकतन्त्रविरुद्ध हुने कुनै पनि कदम स्थायी हुन नसक्ने धारणा राखेका हुन्।
उनले पत्रकारहरूलाई वर्तमान परिस्थितिमा धैर्य राख्न आग्रह गर्दै अधिकार र स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाइरहनुपर्ने बताए। उनका अनुसार चुनौतीपूर्ण अवस्थामा समेत सही विषय उठान गर्न छाड्नु नहुने र संघर्षबाट पछि हट्दा उपलब्धि गुम्न सक्ने अवस्था आउन सक्छ।
ओलीले छापा माध्यमका पत्रकारहरूले उठाएका जायज विषयमा एमालेले साथ दिने प्रतिबद्धता पनि जनाए। उनले पत्रकारका मुद्दालाई संसद् तथा संसद् बाहिर समेत पार्टीले आवाजका रूपमा उठाउने बताए।
पत्रकारहरूलाई निराश नहुन आग्रह गर्दै ओलीले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए।
