नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शक्तिशाली देशले आफ्नो इच्छा अरू राष्ट्रमाथि जबर्जस्ती लाद्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
भारतको नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै सीले विश्वका सबै राष्ट्र समान सम्मानका हकदार रहेको धारणा राखे। ठूला–साना वा धनी–गरिब सबै देशलाई अन्तर्राष्ट्रिय मामिलामा समान सहभागिताको अवसर दिनुपर्ने उनको भनाइ छ।
सीले विकासशील राष्ट्रहरूले बहुपक्षीय व्यवस्था तथा संयुक्त राष्ट्रसंघको भूमिकालाई अझ बलियो बनाउनुपर्ने बताए। यसबाट विश्वव्यापी निर्णय प्रक्रियामा सबै देशको सहभागिता सुनिश्चित गर्न सकिने उनको तर्क छ।
अन्तर्राष्ट्रिय नियम सबैको सहमतिमा बन्नुपर्ने
विश्व परिस्थिति अस्थिर बन्दै गएको भन्दै सीले ब्रिक्स राष्ट्रहरूले विकासशील देशहरूलाई एकताबद्ध गर्दै विश्व शान्ति र स्थिरताका लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताए।
उनले कुनै स्पष्ट नियमबिनाको विश्व अराजकतातर्फ जाने जोखिम रहने उल्लेख गर्दै अन्तर्राष्ट्रिय नियम कुनै एक शक्तिशाली राष्ट्रले मात्र निर्धारण गर्न नहुने धारणा राखे। उनका अनुसार यस्ता नियम सबै देशको सहभागिता र सहमतिमा तय हुनुपर्छ।
सीले सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा विवादको शान्तिपूर्ण समाधानजस्ता आधारभूत सिद्धान्तको रक्षा गर्न ग्लोबल साउथका राष्ट्रहरू एकजुट हुनुपर्ने बताए।
अन्तर्राष्ट्रिय कानुन सबै राष्ट्रमा समान रूपमा लागू हुनुपर्ने र दोहोरो मापदण्डको अन्त्य गरिनुपर्नेमा समेत उनले जोड दिए। विश्वव्यापी न्याय र निष्पक्षता कुनै एक शक्तिको निर्णय नभई सबै देशको साझा प्रयासबाट स्थापित हुनुपर्ने उनको भनाइ थियो।
