२९ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ लालपुरका स्थानीयले लामो प्रतीक्षापछि गाउँ ब्लकअन्तर्गतको जग्गा आफ्नो नाममा दर्ता गराउने अवसर पाउने भएका छन्। करिब १२ वर्षअघि नापी सम्पन्न भए पनि दर्ता प्रक्रिया अघि बढ्न नसकेको जग्गाको अब कानुनी स्वामित्व कायम गर्ने बाटो खुलेको हो।
गोलबजार–२ वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लकको जग्गा भोगचलन गर्दै आएका नागरिकलाई दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ। स्थानीयलाई नापी कार्यालयसम्म धाउनुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले वडाले नापी कार्यालयका कर्मचारीलाई वडा कार्यालयमै बोलाएर निवेदन संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ।
वडा अध्यक्ष सुकदेव सिंहका अनुसार जग्गाधनीलाई सेवा लिन सहज बनाउन वडाकै पहलमा यस्तो व्यवस्था गरिएको हो। लहानस्थित नापी कार्यालय पुग्दा लाग्ने यातायात खर्च तथा आवश्यक कागजात तयार पार्दा हुने झन्झट घटाउने उद्देश्यले वडा कार्यालयमै प्रक्रिया अघि बढाउन लागिएको उनले बताए।
वडाध्यक्ष सिंहका अनुसार निवेदन तयार पार्न आवश्यक सहयोगसमेत वडा कार्यालयले गर्नेछ। स्थानीयको सुविधाका लागि निवेदन संकलनको व्यवस्थासमेत वडाले आफ्नै खर्चमा मिलाएको उनको भनाइ छ।
वडा कार्यालयका अनुसार भदौ २९ गते सोमबारदेखि लगातार एक सातासम्म गाउँ ब्लक जग्गा दर्ताका लागि निवेदन लिइनेछ। निवेदन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म वडा कार्यालयबाट बुझाउन सकिने व्यवस्था गरिएको छ।
साविक लालपुर गाविसअन्तर्गत वडा नम्बर ३ देखि ८ सम्मका विभिन्न स्थानमा गरी कुल २७ कित्ता गाउँ ब्लक जग्गा नापी भएको थियो। आर्थिक वर्ष २०७१/७२ मा गरिएको उक्त नापीमा करिब २० बिघा क्षेत्रफल समेटिएको वडा अध्यक्ष सिंहले जानकारी दिए।
उपलब्ध विवरणअनुसार साविक वडा नम्बर २ मा ७ कित्ता, वडा नम्बर ४ मा २, वडा नम्बर ५ मा ४, वडा नम्बर ६ मा ५, वडा नम्बर ७ मा ३ र वडा नम्बर ८ मा ६ कित्ता गाउँ ब्लक जग्गा नापी भएको थियो।
नापी सम्पन्न भएको लामो समयसम्म पनि दर्ता हुन नसक्दा स्थानीयले वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक स्वामित्व प्राप्त गर्न सकेका थिएनन्। वडा कार्यालयको पछिल्लो पहलपछि दर्ता प्रक्रिया अघि बढ्ने भएपछि स्थानीय बासिन्दाले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।
