सन् २०२३ अक्टोबरदेखि प्यालेस्टिनी क्षेत्र गाजा लगातार युद्ध र विनाशको चपेटामा परेको छ। यस क्रममा पत्रकारहरू पनि सबैभन्दा जोखिममा पर्ने समूहमा परेका छन्। समाचार संकलन र रिपोर्टिङकै क्रममा धेरै पत्रकार आफैं द्वन्द्वका पीडित बनेका छन्।
४० वर्षीया पत्रकार निसरिन थाबेतले सन् २०२४ जुलाईमा इजरायली हवाई आक्रमणमा आफ्ना पति हैदर अल–मसदरलाई गुमाइन्। राजनीतिक तथा सञ्चार मामिलाका लेखक र अनुसन्धानकर्ता मसदर मध्य गाजास्थित एक अस्पतालभित्र पत्रकारहरू बसेको पालमा भएको आक्रमणमा मारिएका थिए।
पति गुमाएपछि पनि थाबेत दुई सन्तानसहित युद्धको सामना गर्दै पत्रकारिता जारी राखिरहेकी छन्। उनका अनुसार आमा र पत्रकार दुवैको भूमिका एकसाथ निर्वाह गर्नु अत्यन्त कठिन भएको छ।
युद्ध र विस्थापनपछि गाजामा जीवन अत्यन्त कठिन बनेको भन्दै उनले आफ्नो र बालबालिकाको सुरक्षासँगै दैनिक कामको जिम्मेवारी पनि सम्हाल्नुपर्ने बताइन्। यातायात तथा सञ्चार सेवाको अभावले पत्रकारिताको काममा समेत ठूलो असर परेको उनको भनाइ छ।
हाल पालमा बस्दै आएकी थाबेतले आफू र छोराछोरीले जुनसुकै बेला सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक सामान तयारी अवस्थामा राख्ने गरेकी छन्। पटक–पटक विस्थापित हुनुपर्दा पत्रकारका रूपमा आफूहरूले चाहेजस्तो व्यावसायिक रूपमा काम गर्न नसकेको उनले बताइन्।
धेरै महत्वपूर्ण घटनाहरू अभिलेख गर्न चाहँदा पनि निरन्तरको विस्थापनका कारण ती घटनालाई कभर गर्न नसकेको उनको भनाइ छ।
युद्धका कारण धेरै अन्तर्राष्ट्रिय पत्रकार गाजाबाट बाहिरिएपछि लामो समयदेखि जारी द्वन्द्वको प्रत्यक्ष रिपोर्टिङको ठूलो जिम्मेवारी स्थानीय गाजाका पत्रकारहरूमाथि आएको छ। आफ्नो ज्यान जोखिममा रहे पनि गाजाको अवस्थाबारे विश्वलाई जानकारी गराउनु आफ्नो जिम्मेवारी भएको थाबेत बताउँछिन्।
उनका अनुसार गाजामा भइरहेका युद्ध, हत्या, विनाश र पटक–पटकको विस्थापनको कथा स्थानीय पत्रकारहरूले सकेसम्म विश्वसामु पुर्याउने प्रयास गरिरहेका छन्।
३२ वर्षीय आमेर सुल्तान सन् २०१४ देखि फोटो पत्रकारका रूपमा काम गर्दै आएका छन्। युद्धका क्रममा विशेषगरी राति हुने र कम कभरेज पाउने घटनालाई दस्तावेज गर्न आफू प्रेरित हुने उनी बताउँछन्।
उनका अनुसार युद्धले जीवन नै उल्ट्याइदिएको छ। विस्थापन, विनाश, हत्या र जबर्जस्ती घरबार छाड्नुपर्ने अवस्थाबीच आफूले देखेका दृश्यको रिपोर्टिङ गर्नु अत्यन्त कठिन भएको उनले बताए।
सन् २०२३ अक्टोबर ७ मा गाजाको जबालिया शरणार्थी शिविरस्थित घरबाट गाजा सिटीमा बढिरहेको घटनाक्रमको रिपोर्टिङ गर्न निस्किएका सुल्तान पछि दक्षिणतर्फ विस्थापित हुनुपरेको थियो। उनका परिवारका सदस्य भने उत्तरमै रहेका थिए।
परिवारसँग पुनर्मिलन हुने उनको आशा सन् २०२५ जनवरी १६ मा टुट्यो, जब उनले आफ्नी आमासहित परिवारका १३ जना सदस्य आफ्नै घरभित्र मारिएको खबर पाए।
सुल्तानले युद्ध अन्त्य गर्न र प्यालेस्टिनी जनतामाथि भइरहेको हिंसा रोक्न विश्व समुदायसँग आग्रह गरेका छन्। आफू पनि युद्धबाट प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उनले आफू पहिले एक प्यालेस्टिनी नागरिक भएकाले आफ्नो परिवारमाथि भएको पीडा अन्य सर्वसाधारणको पीडाभन्दा फरक नभएको बताए।
गाजास्थित प्यालेस्टिनी पत्रकार संघका उपप्रमुख तहसिन अल–अस्तलका अनुसार थाबेत र सुल्तानजस्ता १ हजार ५ सयभन्दा बढी प्यालेस्टिनी पत्रकार युद्धबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। उनका अनुसार २५० भन्दा बढी पत्रकार मारिएका छन् भने दर्जनौँ पत्रकार घाइते भएका छन्। केही पत्रकार पटक–पटक घाइते भएका छन्।
युद्धका क्रममा १५० भन्दा बढी स्थानीय, अरब तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय र उत्पादन केन्द्रहरू नष्ट वा क्षतिग्रस्त भएको अल–अस्तलले बताए।
गाजाका पत्रकारहरूका लागि युद्धको रिपोर्टिङ केवल व्यावसायिक जिम्मेवारी मात्र नभई आफ्नै परिवार, घर र समुदायमाथि भइरहेको घटनालाई अभिलेख गर्ने संघर्षसमेत बनेको छ।
