काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले गाँजाको उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र राजस्व संकलनसँग मात्र जोडेर हेर्न नहुने बताए। यसको औषधीय उपयोग तथा नियन्त्रित प्रयोगको सम्भावनाबारे समेत अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।
विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा आवश्यक कानुन निर्माण गरी गाँजा उत्पादनलाई व्यवस्थित गर्न सके अर्थ मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे।
‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटमा पनि यसको सम्भाव्यता अध्ययन गरिने विषय उल्लेख भइसकेको छ,’ वाग्लेले भने, ‘नेपालले पनि यसलाई सकारात्मक रूपमा अगाडि बढाउनु आवश्यक छ।’
गाँजा खेतीसम्बन्धी विषय मुख्यतः गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने उल्लेख गर्दै उनले आवश्यक कानुनी निक्र्यौल तथा थप अध्ययनका लागि गृह मन्त्रालयसँग समन्वय गर्ने बताए।
गाँजाको औद्योगिक प्रवर्द्धन तथा सरकारी राजस्व वृद्धि गर्ने दृष्टिकोणबाट अर्थ मन्त्रालयले यस विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
गाँजा खेतीलाई व्यवस्थित र कानुनी दायरामा ल्याउने विषयमा गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता समेत अर्थमन्त्री वाग्लेले जनाए।
