काठमाडौं । लघुवित्त, मिटरब्याज तथा सहकारीको ऋणका कारण घरबार गुमाएको भन्दै देशका विभिन्न स्थानबाट काठमाडौं आएका पीडितहरू विगत सात दिनदेखि हरिहरभवन क्षेत्रमा सडकपेटीमा धर्नामा बसेका छन्।
सुनसरीको इनरुवाबाट १९ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका पीडितसहित देशका विभिन्न जिल्लाबाट आएका सयौँ नागरिक सडकपेटीमै दिनरात बिताइरहेका छन्। चर्को घाम, धुलो, वर्षा र असहज वातावरणबीच उनीहरू आफ्नो गुमेको घरबार, सम्पत्ति र न्यायको माग गर्दै आन्दोलनमा छन्।
धर्नास्थलमा पातलो म्याट्रेस र त्रिपालको सहारामा पीडितहरूले रात बिताउने गरेका छन्। कतिपय वृद्धवृद्धाका पैताला फुटेका छन् भने लामो पैदल यात्राका कारण धेरैको स्वास्थ्यमा समस्या देखिएको छ।
धर्नामा बसेकी एक वृद्धाको पैतालामा गहिरा धाँजा फाटेका छन्। लामो यात्राका कारण चप्पल खिइए पनि न्यायको खोजी भने अझै जारी रहेको उनको अवस्था र अनुहारले बताउँछ। छेउमै रहेका बालबालिका भोक र प्यासले रोइरहेका दृश्यले धर्नास्थलको पीडा थप गहिरो बनाएको छ।
पीडितहरूले सडकपेटीमै पानीका जार, लुगाका पोका तथा दैनिक आवश्यक सामग्री राखेर गुजारा चलाइरहेका छन्। प्रहरीले लगाएको ब्यारिकेडको छेउमा त्रिपाल टाँगेर बनाइएको अस्थायी बसोबास नै उनीहरूको भान्सा, ओछ्यान र आन्दोलनस्थल बनेको छ।
चर्को घामबाट जोगिन कतिपय महिलाहरू सारीको आँचलले टाउको छोपिरहेका छन् भने केही छाताको सहारामा सडकपेटीमै आराम गरिरहेका छन्। वृद्धहरू फलामे बारमा अडेस लागेर बसिरहेका देखिन्छन्।
धर्नास्थलमा राखिएका प्लेकार्डमा ‘हाम्रो घर फर्काइदेऊ सरकार, हाम्रो परिवार फर्काइदेऊ’ र ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ’ जस्ता नारा लेखिएका छन्। पीडितहरूले आफूहरूले कुनै विलासिता नभई बाँच्न पाउने अधिकार, आफ्नो सम्पत्ति तथा न्याय मागिरहेको बताएका छन्।
केही पीडितले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराउने प्रयास गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तस्बिरसहित राखिएका प्लेकार्डमा ‘हामी कुनै संख्या होइनौँ, हामी मानव हौँ, हामीलाई न्याय चाहिन्छ’ भन्दै न्यायका लागि अपिल गरिएको छ।
लगातारको घाम, वर्षा, धुलो र मानसिक तनावका कारण धर्नामा बसेका धेरै पीडितको स्वास्थ्यमा समस्या देखिन थालेको छ। धर्नास्थल नजिकै काठमाडौं मेडिकल कलेजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरूले उनीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन्।
स्वास्थ्यकर्मीका अनुसार केही वृद्धवृद्धामा डिहाइड्रेसन, ज्वरो, उच्च रक्तचाप तथा कुपोषणलगायतका समस्या देखिएको छ।
स्वास्थ्य परीक्षण गराउँदै गरेकी एक महिलाले भनिन्, ‘रोगले भन्दा पनि साहुको धम्की र सास्तीले ज्यान लिइसक्यो। अब त मर्ने कि बाँच्ने केही थाहा छैन।’
लघुवित्त, मिटरब्याज र सहकारीको ऋण तथा शोषणबाट पीडित भएको दाबी गर्दै काठमाडौं आएका नागरिकको यो आन्दोलनले राज्यको ऋण तथा वित्तीय शोषणसम्बन्धी नीतिमाथि समेत गम्भीर प्रश्न उठाएको छ।
आफ्नो गुमेको घरबार र सम्पत्ति फिर्ता तथा न्यायको माग गर्दै १९ दिन पैदल यात्रा गरेर काठमाडौं आएका यी नागरिकको पीडा र मागप्रति सरकारले कस्तो कदम चाल्छ भन्ने प्रश्न अहिले धर्नास्थलबाटै उठिरहेको छ।
हरिहरभवनको सडकपेटीमा उनीहरूको आन्दोलन जारी छ—आँखामा थकान, शरीरमा पीडा र मनमा भने अझै न्याय पाउने आशा बाँकी छ।
तस्बिरहरू : अनुप प्रधान/न्युज एजेन्सी नेपाल





