नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? भन्दै प्रश्न गरिन्। बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उनको जिकिर छ।
ग्यास अभाव र दैनिक उपभोग्य वस्तुको महंगी बढ्दा समेत सरकार जवाफदेही हुन नसकेको उनले आरोप लगाइन्। सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको बताइन्।
उनले भनिन्, ‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिट्लरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरङ्कुशता शैली हो ? मान्छेहरू ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन । यो कुरा सरकारले कहिले सुन्छ ? जेनजीको रगतमा टेकेर सिंहदरबारमा खरानीमा घुँडा टेकेको हो सरकारले ? हिजोको दिनमा नैतिकताको कुरा गर्नुहुन्थ्यो, यही हो नैतिकता ? यो विषयमा सरकारलाई स्पष्ट जवाफ दिनको लागि निर्देश गरिदिन माग गर्दछु।’
बरालले ग्यास अभाव र महंगी नियन्त्रणका विषयमा सरकारलाई जवाफ दिन रुलिङ गर्न सभामुखसमक्ष माग गरिन्।
