नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताए।
पूर्वसभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै उनले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने कुनै कारण वा अवस्था नरहेको बताए। पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।
महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ। छोटो समय भएकाले केन्द्रीय समितिमा रहेका केही सदस्यलाई जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा सहयोग गर्न उनले आग्रह गरे।
महाधिवेशनका लागि आवास, भोजनलगायत विभिन्न समिति बनाएर सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै थापाले जिम्मेवारी पाएका सदस्यहरूलाई व्यवस्थापनमा खटिन आग्रह गरे।
महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयमा पनि सबैसँग सरसल्लाह गरेर अघि बढ्ने निर्णय भएको उनले बताए। सबैलाई समेटेर सहमतिका साथ अघि बढ्ने प्रयास गरिने उनको भनाइ छ।
थापाले पूर्वसभापति शेरबहादुर देउवासहित सबै वरिष्ठ नेताहरूलाई एकै ठाउँमा महाधिवेशन सम्पन्न गर्न सहयोग र सहकार्यका लागि पुनः आग्रह गरे।
पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन तयार रहेको उनले बताए।
