नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति देउवा सहभागी भएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताए।
पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको सम्मानपूर्वक बिदाइको चरणमा पार्टी पुग्ने उनले बताए। यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषय सम्बोधन भइसकेकाले अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ।
थापाले पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई नयाँ पुस्तालाई साथ लिएर अघि बढ्न आग्रह गरे। लामो समय पदाधिकारीका रूपमा काम गरेका नेताहरूलाई पार्टीले पूर्वपदाधिकारीका रूपमा छुट्टै सम्मान दिनुको कारण पद नभई उनीहरूप्रतिको भरोसा र सम्मान भएको उनले बताए।
नेपाली काँग्रेसमा नयाँ पुस्ताका नेताहरू आएको उल्लेख गर्दै थापाले सबै पुस्तालाई जोडेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रयास भइरहेको बताए। पुरानो र नयाँ पुस्ताका सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिएर महाधिवेशन सफल बनाउन सहयोग गर्नुपर्ने उनको आग्रह छ।
थापाले काँग्रेसका वरिष्ठ नेताहरूले पनि अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताए।
